काठमाण्डौ । थामिनसक्नु गरी खर्च बढेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय सार्ने भएको छ ।
हाल दरबारमार्गमा रहेको केन्द्रीय कार्यालयको खर्च थामिनसक्नु गरी बढेको भन्दै त्यसलाई घटाउन समेत कार्यालय सार्नुपर्ने बाध्यता सिर्जना भएको बताइएको हो ।
जेविल्स फाइनान्सलाई प्राप्तिको अजेण्डा पारित गर्न शुक्रबार आयोजित बैंकको विशेष साधारणसभामा अध्यक्ष पृथ्वीबहादुर पाँडेले सेयरधनीलाई यस्तो जानकारी गराएका हुन् ।
‘हाम्रो हेड अफिसको कस्ट अचाक्ली बढेको छ । अघिल्लो वर्ष २ करोड रहेको कस्ट बढेर ८ करोड पुगेको छ । यत्रो पैसा तिरेर किन त्यहाँ हेड अफिस राख्ने ?’ पाँडेको भनाई उद्धृत गर्दै एक सेयरधनीले भने–‘अचाक्ली खर्च बढेका कारण लाजिम्पाटमा काम सुरु भएको छ, एक तला थपेर महत्वपूर्ण विभाग त्यहाँ सिफ्ट गरिन्छ ।’
कार्यालय व्यवस्थापनका नाममा बैंक पछिल्लो समय अनावश्यक खर्च नगर्ने रणनीतिमा रहेको उल्लेख गर्दै पुतलीसडकमा भव्य हेड अफिस बनाउने योजना रहेको सुनाए । ‘२ वर्षभित्र लाजिम्पाटमा सिफ्ट भइसक्ने र त्यसपछि पुतली सडकमा भव्य हेड अफिस बनाउने योजना छ ।’ पाँडेले थपे–‘त्यहाँ हाम्रौ आफ्नै ३ रोपनी ३ आना जग्गा छ ।’
बढीमा २ वर्षभित्र दरबारमार्गमा बैंकको सामान्य उपस्थिति मात्र रहने समेत उनले जानकारी गराए । पहिलाको तुलनामा बैंकको हेडअफिस रहेको घरको घाडा तेब्बरले बढेको र वृद्धिदर धान्न नसक्ने अवस्था रहेको गुनासो समेत उनले गरे ।
उनले अर्को एक प्रसंगमा साना संस्थालाई प्राप्ति गरे पनि त्यस्ता संस्थाको कर्मचारीमाथि कुनै अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
‘हाम्रो बैंकमा वर्षको अन्तिममा सबै कर्मचारीको मूल्याङ्कन हुन्छ । लामो समयसम्म प्रमोसन हुन नसकेका वा छिटो छिटो प्रमोसन पाइरहेका कर्मचारीहरुको हकमा समेत म आफैं लागेर क्रस चेक गर्ने गरेको छु ।’ उनले भने–‘विगत ४–५ दिनदेखि समेत म दिनभरि त्यही काममा व्यस्त छु । त्यसकारण मेरोमा कुनै कर्मचारीमाथि भेदभाव हुँदैन । क्षमताको उच्च कदर गरिनेछ ।’
विशेष साधारणसभाले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ को सेयर स्वाप अनुपातमा गाभ्ने प्रस्ताव पारित गरेको छ । योसँगै जेविल्स फाइनान्सको इन्भेष्टमेन्ट बैंकमा औपचारिक बिलय भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19