काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को अहिलेसम्म ४ खर्ब ४४ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गरिएको छ।
नेपाल राष्ट्र बैंकले हालसम्म कुल ४ खर्ब ४४ अर्ब १९ करोड २१ लाख रुपैयाँबराबरको ट्रेजरी जारी गरेको हो। यसमध्ये ८० अर्ब २६ करोड १५ लाख रुपैयाँबराबरको ट्रेजरीमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छ भने बाँकी बिल बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण तथा खरिद गरेका छन्।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ३ खर्ब ६३ अर्ब ९३ करोड ६ लाख रुपैयाँबराबरको ट्रेजरी नवीकरण तथा खरिद गरेका छन्। चालु वर्षको सुरुआतमा बैंकहरुले अधिकतम १४ प्रतिशतसम्म ब्याजदर माग गरेपछि राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्न आफैँले खरिद गर्दै आएको थियो। राष्ट्र बैंकको लगातारको हस्ताक्षेपपछि हाल बैंकहरुले केही कम ब्याजदरको माग गरी आवेदन दिँदै आएका छन्।
विभागको तथ्यांकअनुसार पछिल्लो समय ट्रेजरी बिलको औसत ब्याजदर एकल अंकमा झरिसकेको छ। यद्यपि लामो समय भने यसको औसत ब्याजदर दोहोरो अंकमा कायम भइरहेको थियो। ट्रेजरीको ब्याजदर एकल अंकमा झरेसँगै राष्ट्र बैंकले कम खरिद गरी बैंक तथा वित्तीय संस्थाहरुलाई खरिद तथा नवीकरण गर्न दिन थालेको छ।
त्यसो त गत आर्थिक वर्षदेखि बैंकिङ प्रणालीमा तरलताको अभाव हुँदा ट्रेजरीलगायत अन्य आन्तरिक ऋणहरुको ब्याजदर पनि बढेको थियो। निजी क्षेत्रमा जाने कर्जाको ब्याजदर पनि बढी थियो। तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर केही घटाएसँगै आन्तरिक ऋणहरुको ब्याजदर पनि घट्न थालेको हो।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। ट्रेजरी बिलहरु अवधिका आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19