काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ५० लाख रुपैयाँसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। 

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। ‘५० लाख रुपैयाँसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ। 

यदि यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न पनि राष्ट्र बैंकले सेवाग्राहीहरुलाई आग्रह गरेको छ। 

उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने पनि सूचनामा उल्लेख छ।