काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मकोे सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भारको व्यवस्था गरेको थियो। 

नयाँ निर्देशनमार्फत राष्ट्र बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरेको छ। 

यसैगरी २५ लाखभन्दा माथिको हायपर्चेज तथा अटो लोनमा पनि १५० प्रतिशतको जोखिम भारको व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि पनि हायर्चेज तथा अटो लोनमा १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरिएको थियो तर कर्जाको सीमा भने तोकिएको थिएन।

यस्तै २५ लाख रुपैयाँसम्मको हायरपर्चेच तथा अटो लोनमा भने १०० प्रतिशत जोखिम भारको व्यवस्था गरिएको छ। यसअघि यो व्यवस्था थिएन।

यसैगरी जग्गा प्राप्त तथा विकास (रियल स्टेट लोन)मा पनि १५० प्रतिशतको जोखिम भार कायमै राखिएको छ। यस्तो कर्जामा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५को बुँदा ३.३मा उल्लेख भएको नियमबाहेक यो व्यवस्था आकर्षित हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

सरकारबाट अनुमति प्राप्त संस्थाका लागि भने रियल स्टेट कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरिएको छ। 

यसअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा यी कर्जाहरुमा कायम जोखिम भारको व्यवस्थालाई पुनरावलोकन गर्ने व्यवस्था गरिएको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै परिपत्र जारी गरेको हो।