काठमाण्डौ । कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विश्वभर लगाउन सुरु भएसँगै सोमबार एसियाली सेयर बजारहरु रेकर्डतोड उचाइमा पुगेका छन्। 

विश्वभर निर्माण भइरहेको सकारात्मक माहोलका कारण युरोप र अमेरिकी सेयर बजारले समेत सकारात्मक संकेत देखाएका छन्। सोमबार युरो स्टक ५० ०.५ प्रतिशतले बढेको छ भने जर्मनीको ड्याक्स पनि ०.७ प्रतिशतले वृद्धि भएको छ। यस्तै, लन्डनको एफटीएसई फियुचर्स पनि ०.८ प्रतिशतले वृद्धि भएको छ। 

प्रेसिडेन्ट होलिडेका कारण सोमबार अमेरिकी सेयर बजारहरु बन्द रहे पनि एस एन्ड पी ५०० का लागि ई–मिनी फियुचर्स ०.५ प्रतिशतले बढेको छ। 

जापानको सेयर बजार निक्की २५ इन्डेक्स पनि १.९ प्रतिशतले बढेको छ। यो वृद्धिसँगै जापानको सेयर बजार बितेको ३ दशकमा पहिलोपटक ३० हजार विन्दुको उचाइमा पुगेको छ। 

यस्तै अस्ट्रेलियाको बेन्चमार्क इन्डेक्स पनि ०.९ प्रतिशतले वृद्धि भएको छ। 

चीन र हङकङकका सेयर बजार भने लुनार नयाँ वर्षका लागि बन्द गरिएका छन्। 

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर अपरिवर्तित गर्ने निर्णय गरेसँगै अमेरिकालगायतका विश्वका सेयर बजारमा उछाल आइरहेको छ। 

विश्वका मुख्य र ठूला अर्थतन्त्र बेलायत, क्यानडा र जापानको आर्थिक मन्दीको डेटा आउन बाँकी रहे पनि आउँदो शुक्रबार अमेरिकासहित मुख्य अर्थतन्त्रले आफ्नो पर्चेजिङ म्यानेजर इन्डेक्स सार्वजनिक गर्नेछन्। – एजेन्सी