काठमाण्डौ । लकडाउनको अवधि १९ दिनले बढाएर मे ३ सम्म पुर्याउने घोषणा भएकै दिन भारतमा हजारौं मजदूर सडकमा उत्रिएका छन् । 

मुम्बईको बान्द्रा रेल स्टेशनमा घर पठाउन माग गर्दै हजारौं मजदूर जम्मा भएपछि भारतीय संचारमाध्यमहरुले मोदी सरकारबाट लागू लकडाउनको धज्जी उडेको भन्दै समाचार लेखेका छन् । 

भारतमा हाल महाराष्ट राज्य र त्यसको पनि मुम्बई क्षेत्रमा कोरोना भाइरसको बढी संक्रमण देखिएको छ । रेड जोनमा पर्ने क्षेत्रमै लकडाउनको उल्लंघन गर्दै मजदूर रेल स्टेशन पुगेपछि सरकारलाई तनाव भएको समाचारमा बताइएको छ । 

रेल्वे स्टेशनमा आइपुगेका हजारौं मजदूरहरु आफूहरु भोकभोकै परेको र आफूहरुलाई घर पठाउने व्यवस्था हुनुपर्ने माग गरिरहेका थिए । 

कोरोनाबाट ग्रस्त मुम्बईमा मानिसको भीड समुन्द्रको छाल झै जम्मा भएपछि यसलाई निकै डरलाग्दो अवस्था भनी टिप्पणी गरिएको छ । सरकारले सामाजिक दूरी कायम गर्न लकडाउन घोषणा गरेकै अवस्थामा हजारौं मानिसको भीड जम्मा भएपछि मुम्बई क्षेत्रमा कोरोना संक्रमण अझ तीव्र बन्ने आँकलन गर्न थालिएको छ । 

हजारौं मजदूरको भीड देखेपछि महाराष्टका गृहमन्त्री अनिल देशमुखले उनीहरुको खानपानको व्यवस्था राज्य सरकारले गर्ने घोषणा गरेका छन् । 

समाचारमा भनिएअनुसार त्यसरी घर जान भीडमा जम्मा भएका अधिकांश कामदार भारतकै अन्य राज्यका व्यक्ति हुन् । 

मानिसहरुको भीडलाई तितरबितर पार्न प्रहरीले लाठी चार्ज गरेको थियो । सो क्रममा दर्जनौ मजदूर समेत घाइते भएका बताइएको छ । 

भारतका धेरै मजदूर आजदेखि त्यहाँ जारी लकडाउन हट्ने आशामा थिए । तर, भारतले लकडाउन पुनः १९ दिन बढाएपछि बाँच्नै समस्या भएको भन्दै उनीहरु घर जानलाई एकसाथ ठूलो संख्यामा रेल्वे स्टेशन पुगेका हुन् । 

राज्य सरकार र अन्य अधिकारीहरुले मजदूरहरुलाई खान र बस्नका लागि कुनै दिक्दारी नहुने आश्वासन दिइरहेका समाचारमा बताइएको छ ।