काठमाण्डौ । युरोप क्षेत्रको अधिकांश आर्थिक क्रियाकलापमा गिरावट आउने क्रमले निरन्तरता पाइरहे पनि युरोपेली युनियनको दोस्रो ठूलो अर्थतन्त्र भएको फ्रान्स यो महिना फेरि वृद्धितर्फ फर्किएको छ।

तीन ट्रिलियन डलरको अर्थतन्त्र भएको फ्रान्सको अर्थतन्त्र फेब्रुअरी महिनादेखि पहिलोपटक वृद्धि भएको हो। एक सर्भेका अनुसार कोरोनाभाइरसका लागि लागू गरिएका प्रतिबन्धहरुलाई खुकुलो पारेसँगै फ्रान्सको घरेलु उपभोगमा सुधार आउनुका साथै अर्थतन्त्रले समेत गति लिन थालेको छ। वस्तु उत्पादन र सेवा क्षेत्रको क्रियाकलापको मापन गर्ने पर्चेजिङ इन्डेक्स मे महिनामा ३२.१ रहेकोमा जुन महिनामा यो बढेर ५१.३ पुगेको छ। यो इन्डेक्स ५० भन्दा माथि पुग्नुलाई वृद्धिको सुचक मानिन्छ। 

फ्रान्सले विशेष गरेर वस्तु उत्पादनको क्षेत्रमा सुधार गरेको छ। फ्रान्सले विशेषगरी घरेलु मागमा आधारित कम्पनीहरुबाट फाइदा उठाइरहेको छ। 

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले गत मार्च महिनामा महामारीका कारण साना ठूला कुनैपनि कम्पनीलाई कोल्याप्स हुन नदिइने बताएका थिए। यस्तै फ्रान्सका वित्तमन्त्री ब्रुनो ली म्यारीले अर्थतन्त्रलाई पुनर्जीवित गर्न सरकारले करिब ५२१ बिलियन डलर खर्च गर्ने बताएका थिए। 

कोरोनाविरुद्ध लगाइएको प्रतिबन्धहरुलाई जुन महिनामा फ्रान्स सरकारले थप खुकुलो पारेको छ। विभिन्न कम्पनीहरुलाई पुन सुचारु गर्न अनुमति प्रदान गर्नुका साथै वस्तु तथा सेवाको मागमा सुधार ल्याउन मौका प्रदान गरिएको छ। 

सरकारको प्रयासका बाबजुत पनि अझै कयौँ कम्पनीहरुले आफ्नो मागमा सुधार ल्याउन असफल भइरहेका छन्। कोरोनाको प्रभावका कारण लाखौँ जनता बेरोजगार बनेकाले फ्रान्स सरकारले रोजगार प्रदान गर्ने कार्यक्रमलाई दुई वर्षसम्म सञ्चालन गर्ने जनाएको छ। 

फ्रान्सका श्रममन्त्री म्युरियल पेनिकाउडका अनुसार कामदारहरुलाई छोट्याइएको घण्टामा काम दिइनेछ र यसको ज्याला सरकारले प्रदान गर्नेछ। यस्तै फ्रान्स सरकारले प्रभावित बनेको उड्ययन क्षेत्रका कामदारको बचावका लागि करिब १७ बिलियन डलरको आर्थिक सहायता पहिले नै घोषणा गरिसकेको छ।