काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)का गभर्नर शशिकान्त दासले महङ्गी अझै बढ्नसक्ने र अर्थतन्त्र बिग्रिनसक्ने भन्दै बैंकहरुलाई लोन प्रवाहमा नियन्त्रणको नीति अपनाउन चेतावनी दिएका छन् । 

उनले भारतको महङ्गी आरबीआईले लिएको लक्ष्यभन्दा अझै पनि माथि रहेको छ । 

उनले यसप्रति आफूहरु सतर्क रहेको र महङ्गी नियन्त्रणमा आफूहरुको फोकस रहेको समेत बताएका छन् । 

उनकाअनुसार खुद्रा महङ्गी नियन्त्रणका लागि केन्द्रीय बैंकले कैयन रणनीतिहरु बनाई कार्यान्वयनमा ल्याइसकेको छ। 

अहिले आरबीआईले ग्रोथमा फोकस गरेको छैन, बरु महङ्गी नियन्त्रणमा बढी केन्द्रीत छ। 

त्यहाँको मौद्रिक नीतिले पनि महंगी नियन्त्रणकै बढी कुरा गरेको थियो । अहिले भारतमा बढ्दो खाद्य सामाग्रीको मूल्यवृद्धि नियन्त्रणबाहिर र चिन्ताको विषय बनेको छ । भारतसहित कैयन देशहरु अहिले यस्तो समस्या भोगिरहेका छन् । 

गभर्नर दासले बुधबार भनेका छन् कि मूल्यवृद्धि केही नरम हुने आशा गर्न सकिए पनि मौसमी घटना तथा वैश्विक प्रभावका कारण खाद्यान्नको मूल्यवृद्धिको झट्का सामना गरिरहेको छ । 

बैंकरहरुलाई सम्बोधन गर्दै दासले तुलनात्मक रुपमा महङ्गी कम हुँदै गएको देखिए पनि अझै हौसिएर कर्जा प्रवाह गर्ने बेला भइसकेको छैन । 

यसअघि नोेभेम्बर ८ मा पनि जापान पुगेका गभर्नर दासले महङ्गीको विषयमा चिन्ता व्यक्त गरेका थिए । एकपछि अर्को गर्दै गभर्नरले महङ्गीको विषयलाई लिएर व्यक्त गरेको चिन्ता गम्भीर रहेको विश्लेषकहरु बताउँछन् । 

मंगलबार भारतको वित्त मन्त्रालयले जारी गरेको एक रिपोर्टमा समेत विकासका कामहरु बढ्नेमा आशावादी भए पनि महङ्गीलाई लिएर सरकार सतर्क छ । सरकारले आउने दिनमा मूल्यमा ठूलै गिरावट आउनसक्ने आशा व्यक्त गरेको छ । रिपोर्टमा एशियाको तेश्रो ठूलो अर्थतन्त्रमा माग बढ्नसक्ने अपेक्षा समेत गरिएको छ । 

यही सन्दर्भमा गभर्नर दासले बैंकरहरुलाई लोन प्रवाहमा कडाई गर्न, आफ्नो वासलात बलियो बनाउन र बैंकिङ प्रणालीसँग जोडिएको जोखिममा ध्यान केन्द्रीत गर्न निर्देशन समेत दिएका छन् । 

धेरै लोन नबाँड्नू
बैंकिङ जोखिमको विषयमा कुरा गर्दै दासले बैंकहरुले स्ट्रेस टेस्टिङलाई जारी राख्न आवश्यक छ । एसेट लाइबिलिटी म्यानेजमेन्टलाई मजबुत राख्न आवश्यक छ । कतिपय ऋणिहरुले लोनको अवधि समेत बढाउन थालेका छन् । यस्तो अवस्थामा लाइबिलीटीलाई नियन्त्रणमा राख्नका लागि बैंकहरुले धेरै लोन प्रवाह गर्नुहुँदैन । 

महंगीको अवस्था कस्तो छ ?
सेप्टेम्बरको मुद्रास्फितिको आँकडालाई हेर्ने हो भने सागसब्जीको मूल्यमा कमी आएका कारण खुद्रा महंगी तीन महिनाकै तल्लो विन्दू अर्थात ५.०२ प्रतिशतमा सीमित बनेको छ । तर केन्द्रीय बैंकले लिएको ४ प्रतिशतको विन्दूभन्दा यो माथि नै हो । 

अक्टोबरमा उपभोक्ता मुद्रास्फिति ४.८७ प्रतिशत रहेको छ । यो पनि चार महिनाकै न्यून विन्दू हो । 

तथापि, खाद्य तथा पेय पदार्थको महङ्गी अघिल्लो महिनाको तुलनामा अक्टोबरमा ६.२४ प्रतिशतमै स्थिर छ । वित्त वर्ष २०२३ २४ मा भारतको औसत मुद्रास्फिति ५.४ प्रतिशत रहने अनुमान गरिएको छ ।