काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने विषयमा छलफल सुुरु भएको छ। 

दुवै बैंकका मर्जर कमिटीले मर्जरमा जाने प्रारम्भिक छलफलमात्रै गरेको लक्ष्मी बैंकका एक प्रमोटरले बताए। तर, दुवै बैंक मर्जरमा जाने छलफल अन्तिम चरणमा नपुगेको र सञ्चालक समिति तथा व्यवस्थापनमा को–को रहने भनेर बाहिर चलेको हल्लाजस्तो सहमति पनि नभइसकेको ती प्रमोटरले जानकारी दिए। 

ती प्रमोटरका अनुसार दुवै बैंकका मर्जर कमिटीबीच मर्जरमा जाने सम्बन्धमा अहिलेसम्म २ चरणको छलफल भएको छ। ‘बैंकको नाम, सञ्चालकलगायतका विषयमा पनि कुनै टुंगो लागेको छैन’, ती प्रमोटरले भने, ‘तर, मर्जरमा जाने विषय भने सकारात्मक दिशामा अघि बढिरहेको छ।’

लक्ष्मी बैंकले यसअघि माछापुच्छ्रे बैंकसँग मर्जरमा जाने छलफल गरेको थियो। त्यहाँ कुरा नमिलेपछि लक्ष्मीले सनराइनसँग यो प्रक्रिया अघि बढाएको हो। 

अहिले बैंकहरुलाई पुँजी बढाउनुपर्ने अवस्था छ। सोही कारण यी दुई बैंकबीच मर्जर जाने छलफल सुरु भएको हो।