काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंक दुवैले विशेष कदम चाल्नुपर्ने बताएका छन्  । 

राष्ट्रिय कर दिवस- २०८० कर सप्ताह समापनका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक भएपनि आम जनता र लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताए । उनले मनोबल बढाउन स्पष्ट सन्देश दिनेगरी सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने आवश्यकता जोड दिए ।

‘केही दिन पहिले प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा अर्थमन्त्री र गभर्नरले दिएको तथ्यांकले अब अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको छ । तर, साना व्यवसाय र साना व्यवसायीबाट सुरु भएको समस्या अब ठूला व्यवसायी र व्यवसायमा देखिन थालेको छ । बैंकमा बढेको एनपीएलले पनि त्यो संकेत गर्दछ । बैंकको नाफा घट्दा पुनस् बैंकले दाखिला गर्ने सरकारी करमा नै असर पर्ने हो । खर्च र आम्दानीको फरक बढ्दो देखिएको छ । साधारण खर्च बढेको देखिन्छ तर त्यसको तुलनामा आम्दानी खुम्चिदो छ । यसले अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने देखाउँछ’, उनले भने ।

उनले भने, ‘अहिलेको प्रणालीलाई कमजोर नबनाई सरकार तथा राष्ट्र बैंकले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुन: लयमा ल्याउन सकिन्छ । यसमा सुधार ल्याउन सकिन्छ । आम जनता र लगानीकर्ताको मनोबल बढाउन सकिन्छ ।’

उनले सरकारको पूँजीगत खर्च हुन नसकेकोले त्यसलाई बढाउन आवश्यक रहेको भन्दै केहिसमय यता भएको खर्चको भुक्तानी पनि रोकिएकोले त्यसलाई तत्काल रिलिज गर्दिने हो भने यसले बजारमा पैसाको फ्लो बढाउने र आर्थिक गतिविधि बढाउने बताए । 

उनले राष्ट्र बैंकले अहिलेको प्रणालीलाई नबिगारी साना तथा मझौला व्यवसायलाई संकटबाट बाहिर ल्याउन विशेष उपकरण ल्याउनु पर्ने पनि बताए ।

कर दिवसमा सबैभन्दा धेरै आयकर कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने प्रचलनले निजी क्षेत्र र करदातालाई प्रोत्साहन गर्ने बताउँदै अध्यक्ष ढकालले कर तिर्दा सरकारले सम्मान गर्छ भन्ने कुरा व्यवसायीमा बढेको बताए ।

उनले अर्थतन्त्र सुधारका लागि सरकारले लिएको इनिसिएसनले मात्र सेयर बजारमा सुधार देखिएको बताउँदै केहि सकारात्मक परिवर्तन हुने गरी सुधारको सन्देश दिन आग्रह समेत गरे ।

हरेक वर्ष कर दिवसमा सम्मान पाउने तर सिंहदरवार छिर्नलाई अनेक झमेला गर्नुपर्ने निजी क्षेत्रको गुनासो तत्काल सम्बोधन गर्न समेत उनले आग्रह गरे ।