काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशिका संशोधन गरेको छ । प्राधिकरणले पुष १८ गते लघु बीमा कम्पनीलाई जारी गरेको निर्देशिका पहिलो संशोधन गरेको हो । 

प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ को दफा २० को उपदफा (१) मा सवारी साधन बीमा थप गरेको छ । 

निर्देशिका बमोजिम निर्जीवन लघु बीमा कम्पनीहरुले मोटर लघुबीमा र मोटर तेस्रो पक्ष (थर्ड पार्टी) इन्स्योरेन्स गर्न पाउनेछन् । प्राधिकरणका अनुसार निर्जीवन लघु बीमकले ५० लाख रुपैयाँको मोटर लघुबीमा र मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम मोटर थर्ड पार्टी इन्स्योरेन्स गर्न पाउनेछन् । 

यसअघि लघुबीमा निर्देशन, २०७९ मा निर्जीवन लघु बीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ लघु बीमा गराउन पाउने व्यवस्था रहेको थियो । 

साथै मोटर लघुबीमामा ट्रेलर, ट्रयाक्टर, थ्रेसर, मोटर अन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा, ठेलागाडा रहेका छन् । यसका साथै दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमा भने ५ लाख रुपैयाँसम्मको गर्न पाउने व्यवस्था छ । 
प्राधिकरणले लघुबीमाको दायरा बढाउन मोटर तेस्रो पक्ष बीमा गर्न पाउने व्यवस्था गरेको हो । 

त्यस्तै, लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ भन्दा कम बीमाङ्क रकम भएको जीवनको लघुबीमा गर्न पाउने व्यवस्था छ । प्राधिकरणले लघु जीवन बीमा कम्पनीको लागि उपदफा ४ थप गरेको छ । 

जसमा उपदफा (३)मा जुनसुकै कुरा लेखिएको भएतापनि वैदेशिक रोजगार (म्यादी) जीवन व्यवसायका लागि बीमांकको सिमा प्राधिकरणले जारी गरेको स्तरीकृत वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्बन्धि निर्देशनमा उल्लेख भए बमोजिम हुने भनिएको छ ।