काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको पुँजी कोष अनुपात बढाएर १५ प्रतिशत पुर्‍याउन सुझाव दिइएको छ। 

लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले तयार गरेको अध्ययन प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो। लघुवित्त संस्थाहरुको पुँजी कोष अनुपात चरणबद्ध रुपमा बढाएर १५ प्रतिशत पुर्‍याउन सुझाव दिएको छ। 

आज सार्वजनिक प्रतिवेदनमा उक्त पुँजी कोष वृद्धि गर्न ३ वर्षदेखि ५ वर्षको समय दिनुपर्ने सुझाव दिइएको छ। लघुवित्त संस्थाहरुले २०८२ असारमा १० प्रतिशत, २०८३ असारमा १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत पुँजी कोष पुर्‍याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

पुँजी कोष पुर्याउन लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर गर्न प्रोत्साहन गर्ने र निश्चित समयावधिपछि संस्थापक सेयरमा परिणत हुने गरी अग्राधिकार सेयर आफ्ना ग्राहकलाई बिक्री गर्ने गरी निष्कासन गर्न दिन प्रतिवेदनमा सुझाव दिइएको छ। 

अन्य उपायबाट पुँजी कोष वृद्धि गर्न नसकेको अवस्थामा भने विद्यमान चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न दिन सकिने सुझाव पनि प्रतिवेदनमा दिइएको छ।