काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा तेस्रो  दिन पनि थामिनसक्नु आवेदन परेको छ । 

दोस्रो दिन यो कम्पनीको आइपीओमा मागभन्दा ७७ गुणा हाराहारी आवेदन परेको थियो । आज आइतबार भने यो कम्पनीमा १२७.१० गुणा आवेदन परेको छ ।

सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा आइतबार (आज) साँझ ५ बजेसम्म ४ लाख ८२ हजार ९४१ आवेदनबाट १ करोड २ लाख ५७ हजार २९० कित्ता खरिदका लागि आवेदन परेको हो ।
 
यो कम्पनीले आफ्ना कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता आइपीओ निश्कासन गरेको हो । 

पहिलो दिन नै कम्पनीको आइपीओमा देशभरबाट ५१ हजार ८४६ वटा आवेदन परेको थियो । भने गत शुक्रबार दोस्रो दिन देशभरबाट २ लाख ८८ हजार ७२९ आवेदन परेको थियो ।

संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। संस्थाले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।