काठमाण्डौ । प्रतिकित्ता सेयर मूल्य अधिक, तर नाफा तथा चुक्तापूँजी चाहि निकै कम । धेरैले माइक्रोफाइनान्सलाई यसैगरी बुुझ्छन् । तपाईको पनि यस्तै बुुझाई हो भने कतिपय कम्पनीको सवालमा त्यो गलत हुनसक्छ । कारण, कतिपय माइक्रोफाइनान्सले वाणिज्य बैंकलाई समेत टक्कर दिने गरी नाफा कमाउने गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा छिमेक लघुवित्त विकास बैंकको नाफालाई हेरेपछि भन्न करै लाग्छ-माइक्रोफाइनान्स भनेर नहेप्नूू । 

यो माइक्रोफाइनान्स कम्पनीले आब २०७३/७४ मा ५७ करोड ६४ लाख बढीको खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा ४७ करोड २६ लाख थियो । 

अघिल्लो वर्ष १ अर्ब ४ करोड रहेको खूद ब्याज आम्दानीलाई बढाएर यो कम्पनीले १ अर्ब २४ करोडको उचाईमा पुर्याएको छ । 

यो अवधिमा छिमेक लघुवित्तले ८८ करोड ९७ लाख संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ७२ करोड ७२ लाखमा सीमित थियो । 

यो अवधिमा ३ अर्ब ९३ करोड सापटी लिई तथा ९ अर्ब ६ करोड निक्षेप संकलन गरी १२ अर्ब ५१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ७८ करोड सापटी लिई तथा ६ अर्ब ९२ करोड निक्षेप संकलन गरी ९ अर्ब ६८ करोड कर्जा परिचालन गरेको थियो । 

छिमेक लघुवित्तको जगेडा कोषमा ९५ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो कोषमा ७४ करोड ६८ लाख रुपैयाँ थियो । यो माइक्रोफाइनान्सको चुक्तापूँजी ८३ करोड ४० लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा छिमेकले निस्क्रिय कर्जालाई ०.१० प्रतिशतबाट घटाएर ०.०९ प्रतिशतमा झारेको छ । यस्तै, प्रतिसेयर आम्दानी ६९.११ रुपैयाँ, प्रति सेयर नेटवर्थ २१४.४६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८७५.४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.०७ गुणा कायम भएको छ ।