काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा निर्भर पूँजीबजारमा विभिन्न कम्पनीहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई धमाधम लाभांश घोषणाको लहर नै चलेको छ । बैंक तथा बित्तीय संस्थाहरुलाई लगानी वृद्धिको हतारो र चटारो भएका कारण पनि उनीहरु यो वर्ष दशैंतिहारअघि नै लाभांश घोषणा गरेर चाँडोभन्दा चाँडो वार्षिक साधारणसभा सक्ने मूडमा छन् । 

नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने समय तोक्ने गर्दा अघिल्ला वर्षहरुमा दशैंतिहार मनाएर मात्र लाभांश घोषणा हुने र आरामसाथ वार्षिक साधारणसभा गर्ने प्रवृति थियो । तर यो पटक पूँजीवृद्धिको हतारोका कारण धेरै कम्पनीहरुले लाभांश घोषणा धमाधम गरिरहेका हुन् । 

लाभांश घोषणाको लहरमा फाइनान्स कम्पनी पनि छन् । हालसम्म ८ वटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेका छन् ।

कसले कति घोषणा गरे लाभांश ?
हालसम्म घोषित लाभांश अनुसार सबैभन्दा धेरै गुड्विल फाइनान्सको छ । यो कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई १० प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । यसरी हेर्दा समेत गुड्विल फाइनान्सले आफ्ना लगानीकर्तालाई यो पटक निकै उत्साहित बनाएको भन्न सकिन्छ । 

सेन्ट्रल फाइनान्स लिमीटेडले यो वर्ष २२.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । हालसम्म घोषित फाइनान्स कम्पनीको लाभांशमध्ये यो दोश्रो स्थानमा रहे पनि सेन्ट्रल फाइनान्सका लगानीकर्ताका लागि खासै उत्साहप्रद चाहि होइन । कारण, यो फाइनान्सले अघिल्लो वर्ष लगानीकर्तालाई ३३ प्रतिशत लाभांश वितरण गरेको थियो, यो वर्ष खुम्चियो । 

यूनाइटेड फाइनान्सले अघिल्लो वर्षभन्दा लाभांश वितरणमा आफूलाई सुधार गर्दै लगानीकर्तालाई उत्साहित बनाउने काम गरेको छ । अघिल्लो वर्ष १५.७९ प्रतिशत लाभांश वितरण गरेको यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट यो वर्ष २० प्रतिशत सेयर र १.०५० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

आइसीएफसी फाइनान्सले लगानीकर्तालाई यो वर्ष १७.८९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । अघिल्लो वर्ष यो फाइनान्सले ११.०५ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । कम्पनीको प्रगति र बढेर आएको लाभांश देखेर लगानीकर्ता उत्साहित छन् । 

यूनिक फाइनान्स लिमीटेडले लाभांश घोषणामा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष छलाङ मारेको छ । अघिल्लो पटक ७.०३६ प्रतिशत मात्र लाभांश वितरण गरेको यो कम्पनीले आब २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

पोखरा फाइनान्सको लाभांश पोहोरको तुलनामा सन्तोषजनक छैन । गत साल यो कम्पनीले लगानीकर्तालाई २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यो वर्ष पोखरा फाइनान्सले १३.५० सेयर र ०.७१० नगद लाभांश गरी कुल १४.२१० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

एभरेष्ट फाइनान्स लिमीटेडले यो वर्ष १४.५०० प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष पनि यो कम्पनीले १४ प्रतिशत लाभांश खुवाएको थियो । 

श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ता उत्साहित हुनुपर्ने अवस्था देखिएन । कारण, यो कम्पनीले गत सालको भन्दा केही कम मात्र लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष १२.२२ प्रतिशत लाभांश घोषणा गरेको यो फाइनान्सले यो वर्ष भने ११.०५ प्रतिशत मात्र घोषणा गरेको छ ।