काठमाण्डौ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले लामो समयपछि '७३७ म्याक्स' प्लेनको पहिलो अर्डर प्राप्त गरेको छ। दुईवटा दुर्घटना भएपछि नियाकमहरुले कम्पनीको जेटहरुलाई ग्राउन्डेड गरेको थियो।

बोइङले पोल्यान्डको हवाई कम्पनी इन्टर एयरले चारवटा बोइङ म्याक्स विमानका लागि अर्डर गरेको जनाएको छ। सन् २०१० बाट एउटा ७३७ बोइङसहित सञ्चालनमा आएको इन्टर एयर पोल्यान्डको सबैभन्दा ठूलो चार्टर्ड उडान भर्ने अपरेटर हो।

दुईवटा विमान दुर्घटनामा ३४६ जनाको मृत्यु भएपछि नियामकहरुले सन् २०१९ को मार्च महिनादेखि ७३७ म्याक्सलाई विश्वव्यापी रुपमा ग्राउन्डेड गरेको थियो। अमेरिकामा यस विषयमा अझै पनि अनुसन्धान जारी छ।

कम्पनीले अर्काे वर्षको सुरुआतदेखि विमानले उडान अनुमति पाउने विश्वास लिएको छ। यसका साथै कम्पनीले आफ्नो उत्पादन तालिकालाई घटाउने जनाएको छ।

दुर्घटना र म्याक्स फिलिटको ग्राउन्डिङका साथै कोरोना महामारीका कारण बोइङ नराम्ररी प्रभावित बनेको छ। यो वर्षमात्रै ग्राहकले कम्पनीका ४०० वटा जेटको अर्डरहरु रद्द गरेका छन्। यो वर्षको पहिलो ६ महिनामा कम्पनीले ९ वटा ७३७ विमान ग्राहकलाई हस्तान्तरण गरेको छ। जब कि गत वर्षको सोही अवधिमा कम्पनीले १०० भन्दा धेरै विमान हस्तान्तरण गरेको थियो। – एजेन्सी