काठमाण्डौ । एप्पल कम्पनीका संस्थापकहरू स्टिभ वोजनियाक र स्टिभ जब्सले सन् १९७६ मा बनाएको एउटा सुरुआती कम्प्युटरले लिलामीका बेला अमेरिकामा ४ लाख डलर पाएको छ।

दुर्लभ हवाइअन कोओबाट बनेको काठे बक्सा भएको एप्पल–१ ले अझै काम गरिरहेको छ र त्यो सुरुमा निर्माण गरेर बेचिएको २०० वटामध्ये एउटा हो। उक्त कम्प्युटरको स्वामित्व अहिलेसम्म दुईजनासँग मात्र रह्यो।

क्यालिफोर्नियाका लिलामीकर्ता जोन मोरनका अनुसार सुरुमा त्यसलाई एकजना कलेजका प्राध्यापकले चलाए र पछि उनले आफ्ना विद्यार्थीलाई त्यो ६५० अमेरिकी डलरमा बेचेका थिए। उक्त बिक्रीमा प्रयोगका लागि सहायता सामग्री र दुईवटा क्यासेट टेपमा एप्पलका सफ्टवेअर संलग्न छ।

मंगलबारको लिलाम बिक्रीअघि एप्पल–१ विज्ञ कोरे कोहिनले लस एन्जलस टाइम्ससँग भने, ‘पुराना इलेक्ट्रोनिक्स र कम्प्युटर प्रविधिका संग्रहकर्ताका लागि यो पवित्र अवशेषजस्तो हो, यो साँच्चिकै धेरैलाई लोभ्याउने कुरा हो।’

उक्त मोडलको कोआ काठको बाकस उति बेलाको एउटा कम्प्युटर बिक्रेता क्यालिफोर्नियाको बाइटसपले थपेको थियो। उक्त बिक्रेताले ५० वटा एप्पल–१ कम्प्युटर बेचेको थियो।

जब्स, वोजनियाक र रोनाल्ड वेनेले सन् १९७६ को एप्रिल १ मा क्यालिफोर्नियाको एउटा ग्यारेजमा एपलको स्थापना गरेका थिए।

एपल–१ को उत्पादनलाई आर्थिक रुपले सघाउन जब्सले भीडब्ल्यू माइक्रोबस र वोजनियाकले आफ्नो एचपी–६५ क्यालकुलेटरलाई पाँच सय डलरमा बेचेका थिए।

सन् १९७६ मा उक्त कम्प्युटरहरु ६६६.६६ अमेरिकी डलरको दरले बेचिएका थिए। त्यस्तो मूल्य राखिनुको कारण वोजानियाकले अंकहरु दोहोरिएको रुचाउनु रहेको थियो। अझै संसारभर त्यस्ता २० वटा काम गर्न सक्ने कम्प्युटरहरु रहेको विश्वास गरिन्छ।

यसअघि सन् २०१४ मा न्युयोर्कमा भएको एउटा बेग्लै लिलामीमा काम गरिरहेकै एप्पल–१ कम्प्युटर ९ लाख पाँच हजार डलरमा बिक्री भएको थियो। –बीबीसी