काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ। 

कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो। 

सभाले आर्थिक वर्ष २०७६–७७, २०७७–७८ र २०७८–७९को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गरेको छ। 

सभाले संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना गरी ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ। संस्थापक समूहबाट डा. आत्माराम घिमिरे, श्यामबहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोख्रेल तथा सर्वसाधारण समूहबाट लोचन कोइराला सञ्चालकमा निर्वाचित भएका हुन्। स्वतन्त्र सञ्चालकमा अनुज्ञा सापकोटाको नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। 

हाल कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन सुरु भइरहेको छ । यसका साथै कम्पनीको स्वामित्वमा रहेका अन्य आयोजनामा १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता हुने क्रममा रहेको तथा २४.६ मे.वा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गर्ने क्रममा रहेको जानकारी कम्पनीका प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरेले सभामा गराएका छन्।