काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा आवद्ध गराउँदै लग्ने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बिहीबारदेखि कारोबार शुरु गर्ने गरी लुम्बिनी विकास बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणालीमार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिलभुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेका छन् । 

यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुने बताइएको छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ र छिट्टै नेपाल सरकारको अन्य कर÷गैर कर भुक्तानी समेत गर्न सकिने गरी काम भइरहेको जानकारी कम्पनीले गराएको छ । 

यो प्रणालीमा हालसम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म १८ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।