काठमाण्डौ । कोरोना महामारीले विश्वको कर्पोरेट जगतलाई नै बदलिदिएको छ। वर्क फ्रम होमका साथ मानिसहरुको जीवनशैलीमा निकै परिवर्तन भएको छ। 

अहिले कार्यालय खोल्ने हरेक प्रयासको कर्मचारीहरुले विरोध गरिरहेका छन्। टेस्ला, एप्पलजस्ता कम्पनीहरुले कर्मचारीलाई कार्यालयमा बोलाउन निकै कठोर कदम चालिरहेका छन्। 

अर्कोतर्फ हार्ले–डेभिडसनजस्ता कम्पनीले भने कर्मचारीलाई घरबाटै काम गराउन चाहन्छन्। यो ११९ वर्ष पुरानो मोटरसाइकल कम्पनीले मार्च २०२० मा मिलवाउकीमा आफ्नो मुख्यालय बन्द गर्यो र त्यसबेलादेखि बन्द छ। 

ब्लुमबर्गका अनुसार हार्लेका प्रमुख कार्यकारी अधिकृत जोचेन जेट्जले ५ लाख वर्गफिटमा फैलिएको कार्यालयलाई अन्य उद्देश्यका लागि प्रयोग गर्न खोजिरहेका छन्। २०२० मा कम्पनीको जिम्मेवारी सम्हालेका जेट्ज दुई बच्चाका बुवा हुन्। उनी महामारी र बुवा हुनुको संयोजनले भर्चुअल बैठकहरुलाई बढी प्राथमिकता दिन्छन्। 

हार्लीले मिलवाकी मुख्यालय कम्पनीको ‘इन्टीग्रल’को हिस्सा  बनिरहने जनाएको छ। यद्यपि सीईओ जेट्स त्यहाँ के गर्नेछन् भन्ने स्पष्ट छैन। 

जेट्सको विचार टेस्लाका सीईओ एलन मस्कको भन्दा एकदमै विपरीत छ। मस्कले भर्खरै आफ्ना कर्मचारीलाई हरेक हप्ता अफिसमा ४० घन्टा बिताउनुपर्ने निर्देशन दिएका थिए। यदि काममा नफर्किए राजीनामा मानिने मस्कले कर्मचारीका भनेका थिए। अन्य धेरै कम्पनी पनि टेस्लाको बाटोमा छन्। कोही बीचको बाटो खोजिरहेका छन्। 

कर्मचारीहरुले कार्यालय खोल्ने कुनै पनि प्रयासको विरोध गरिरहेका छन्। सेप्टेम्बरमा जनरल मोटर्सले आफ्ना कर्मचारीहरुलाई हप्ताको कम्तीमा तीन दिन कार्यालय आउन आदेश जारी गरेको थियो। कर्मचारीको आन्दोलनपछि केही दिनमै उक्त आदेश फिर्ता लिन कम्पनी बाध्य भयो। कम्पनी अन्य धेरै सर्तहरुमा नरम बन्न पनि तयार भएको थियो। –एजेन्सी