काठमाण्डौ । वाणिज्य बैंकको निक्षेपको ब्याजदर अधिकतम १०.८९ प्रतिशतसम्म हुने भएपछि आफ्नो निक्षेप जोगाउने बाध्यतामा धकेलिएका विकास बैंकहरुले अन्ततः भदौका लागि ब्याजदर बढाउने भएका छन् । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को कार्यसमिति बैठकले भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको अधिकतम ब्याजदर ११.१५ प्रतिशत पुर्याउने निर्णय गरेको हो । 

'वाणिज्य बैंकहरुमध्ये केहीको निक्षेपको ब्याजदर बढेर १०.८९ प्रतिशतसम्म पुग्ने सूचना पाएपछि हामीले यस्तो निर्णय गर्नुपरेको हो ।' डिबानका एक अधिकारीले बिजशालासँग भने-'हाम्रो निक्षेप जोगाउनका लागि पनि निक्षेपको अधिकतम ब्याजदर ११.१५ प्रतिशत कायम गरेर विकास बैंकहरुले नयाँ रेट प्रकाशन गर्नेछन् ।' 

विकास बैंकहरुले एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ११.१५ प्रतिशतसम्म दिन पाउनेछन् । 

एक वर्षभन्दा कम अवधिको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.०५ प्रतिशत कायम गर्ने सहमति विकास बैंकहरुबीच भएको छ । 

यस्तै, एक वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.१५ प्रतिशत तोकिएको छ भने एक वर्षभन्दा कम अवधिको ९.०५ प्रतिशत तोकिएको छ । 

विकास बैंकहरुले बचतको न्यूनतम ब्याजदर ६.१५ प्रतिशत कायम गर्ने सहमति गरेका छन् । 

डिबानले क्षेत्रीय तथा प्रादेशिक स्तरका विकास बैंकहरुले भने तोकिएको अधिकतम रेटमा ०.२५ आधारविन्दूले बढाएर ब्याजदर प्रकाशन गर्नसक्ने सुविधा समेत दिएको छ ।