काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम महिना असारको पहिलो साता वाणिज्य बैंकहरुमा निक्षेप ह्वात्तै बढेको छ । 

सरकारी खर्च वृद्धि भएका कारण त्यो पैसा प्रणालीमा आउँदा निक्षेप ह्वात्तै बढेको केन्द्रीय बैंकका अधिकारीहरुको बुझाई छ । 

असार पहिलो साता वाणिज्य बैंकहरुमा २३ खर्ब ५७ अर्ब निक्षेप पुगेको छ । जेठ अन्तिम साता २३ खर्ब ३६ अर्बमा सीमित निक्षेप एकहप्तामै २१ अर्बले बढेको देखिएको छ । 

जेठ पहिलो सातासम्म वाणिज्य बैंकहरुमा २३ खर्ब २१ अर्ब निक्षेप रहेको थियो । एकमहिनाको अन्तरालमै निक्षेप ३६ अर्बले बढेको देखिएको छ । 

पछिल्लो समय निक्षेप सहज भए पनि कर्जा प्रवाहतर्फ भने न्यून मात्र प्रगति भएको देखिएको छ । असार पहिलो साता वाणिज्य बैंकहरुले २० खर्ब ६९ अर्ब बराबर कर्जा बिस्तार गरेका छन् । जेठ अन्तिम साता २० खर्ब ६३ अर्ब कर्जा बिस्तार भएको देखिएको छ । यसरी हेर्दा एकहप्ताको अवधिमा ६ अर्ब मात्र कर्जा बिस्तार भएको छ, जब कि यही समयमा निक्षेप भने २१ अर्बले बढेको छ । 

वाणिज्य बैंकहरुले जेठ पहिलो साता २० अर्ब ४९ अर्ब कर्जा प्रवाह गरेका थिए । सो बेला निक्षेप २३ अर्ब २१ अर्ब रहेको थियो । 

वाणिज्य बैंकहरुमा निक्षेप ह्वात्तै बढेका कारण अधिक तरलताको समस्या समेत देखिन थालिसकेको छ । अन्तर बैंक ब्याजदर घटेर ३ प्रतिशत तल पुगेपछि राष्ट्रबैंकले निक्षेप उपकरणमार्फत केही तरलता प्रशोचन गरिसकेको छ ।