काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लागू गर्न लागेको रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजिएस) प्रणाली कार्यान्वयनको लागि नेपाल बैंकर्स संघको पहलमा नेपाल क्लियरिङ्ग हाउस र अधिकांश वाणिज्य बैंकहरुसँग इन्टीग्रेसन पार्टनरको रुपमा कार्य गर्ने गरी मंगलबार एक कार्यक्रममा सम्झौता गरिएको छ । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, सक्षम एक्सेस टू फाइनान्स फर पुवर प्रोग्रामका प्रमुख निर्मल दहाल, नेपाल राष्ट्र बैंकका अन्य उच्च पदाधिकारीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न वाणिज्य बैंकहरुसँग भिन्दा–भिन्दै सम्झौता गरिएको हो ।

यो सम्झौता अनुरुप, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई आरटीजिएस प्रणालीमार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरटिजिएस इन्टीग्रेसन मिडलवेयर उपलब्ध गराउनेछ । आरटीजिएस प्रणाली कार्यान्वयनमा इन्टीग्रेसनको महत्वपूर्ण भूमिका रहने हुँदा यस सहकार्यले नेपाल राष्ट्र बैंकको आरटीजिएस कार्यान्वयनको पहललाई विशेष सहयोग पुर्याउने दाबी गरिएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले हाल आफ्ना सदस्य बैंक तथा वित्तिय संस्थाहरुलाई एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस, कनेक्ट आइपीएस लगायत अरु आवश्यक इन्टीग्रेसन तथा अप्लीकेसन प्रोग्रामिङ इन्टरफेसेस(एपीआई)  उपलब्ध गराउँदै आएको छ । संचालनमा रहेका प्रणालीहरुलाई आवश्यक परिमार्जन गरी बैंकहरुलाई आरटिजिएस प्रणालीमा समेत इन्टीग्रेसन गर्ने गरी परियोजना विकास गरिएको हो ।

आरटिजिएस  प्रणाली मार्फत् आबद्ध भएका सदस्य बैंक तथा वित्तिय संस्थाहरुबीच ठूलो रकमको कारोबारहरु र राष्ट्रिय भुक्तानी प्रणालीहरुका अन्तिम फछ्र्यौटका कार्य हुने गर्दछ ।

हाल नेपाल राष्ट्र बैंकको पहलमा कार्यान्वयन हुन गइरहेको आरटीजिएस प्रणाली डिएफआइडी सक्षम एक्सेस टू फाइनान्स फर पुअर प्रोग्रामको सहयोगमा पहिलो चरणमा वाणिज्य बैंकहरु तथा नेपाल क्लियरिङ्ग हाउसका कारोबारहरु हुने योजना रहेको छ ।