काठमाण्डौ । माछापुच्छ्रे बैक लिमीटेडले नेपाली कमर्शियल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालनमा ल्याएको छ । 

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले बिशेष गरी डिजीटल बैंकिङ्गमा नयाँ–नयाँ खोज र अनुसन्धान गर्दै नयाँ–नयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरुमाझ संचालन गर्दै आएको छ । यही क्रममा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले बैंकले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको हो । 

‘रोबस्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका विशेषताहरु जस्तैः भर्चुअल कार्ड सिर्जना गरी उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण(केवाइसी)भिडियोमार्फत अपलोड गर्न सकिने लगायतका बिल्कुलै नयाँ विशेषताहरु रहेका छन् ।’

 यसका साथै रेमिट्याप बिशेष गरी बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन पनि उपयोगी हुने बताइएको छ । 

‘रेमिट्यापले बिदेशको साथै नेपालभित्र नै एक ठाउँबाट उर्को ठाउँमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न सहज बनाउनेछ ।’ बैंकले भनेको छ–‘यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढी एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।’

यसबाहेक रेमिट्याप वालेटभित्र अन्य विभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अंग्रेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास माछापुच्छ्रे बैंकले व्यक्त गरेको छ । 

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन सुरु गरेको यो बैंकको देशभर १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग इकाई र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१  स्थानमा सेवा सञ्जाल रहेको छ भने १९७ वटा एटीएमहरु तथा करिब २ हजार भन्दा बढी पीओएस मेसिनमार्फत समेत सेवा प्रवाह गर्दै आइरहेको छ ।