काठमाण्डौ । रुस र युक्रेनबीच चलिरहेको युद्ध र बढ्दो मुद्रास्फीतिका कारण विश्वभरका बजारमा उथलपुथल मच्चिएको छ। तर, अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटको कमाइ भने झनै बढ्दै गइरहेको छ।

बफेटको कम्पनी बर्कशायर ह्याथवे इंकको सेयरमूल्य सोमबार पहिलोपटक ५ लाख डलर पुगेको छ। यो संसारको सबैभन्दा महँगो स्टक पनि बनेको छ। 

रोयटर्सका अनुसार यस वर्ष कम्पनीको क्लास ए सेयरको मूल्य १० प्रतिशतले बढेको छ भने अमेरिकी सेयर बजारको प्रमुख परिसूचक यस अवधिमा १२ प्रतिशतले घटेको छ। कम्पनीको मुख्यालय नेब्रास्काको ओमाहामा रहेको छ। यसको मार्केट भ्याल्यू लगभग ७३१ अर्ब डलर रहेको छ। यो आधारमा बर्कशायर अमेरिकाको छैटौँ ठूलो कम्पनी हो। 

योभन्दा अगाडि एप्पल, माइक्रोसफ्ट, अल्फाबेटा, अमेजन र टेस्ला रहेका छन्। 

यो कम्पनीमा बफेटको १६.२ प्रतिशत हिस्सेदारी छ। बफेट विश्वको पाँचौँ धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति ११९.२ अर्ब डलर रहेको छ। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बफेटको कुल सम्पत्ति यस वर्ष १०.५ बिलियन डलरले बढेको छ। यस अवधिमा शीर्ष १० धनाढ्यमा समावेश अन्य सबैको सम्पत्तिमा भारी गिरावट आएको छ। 

बर्कशायरले गत वर्ष २७.४६ अर्ब डलर सञ्चालन मुनाफा आर्जन गरेको थियो। 

बफेट अहिले ९१ वर्षका छन्। सन् १९६५ जब बफेटले यो टेक्साइटल कम्पनीको कमान सम्हाले, त्यति बेला यो कम्पनीको सेयरभाउ २० डलर मात्र थियो। त्यतिबेला कम्पनी आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको थियो। तर, कम्पनीले बफेटको सफल नेतृत्वमा नयाँ सफलताको कथा लेख्यो। यस अवधिमा कम्पनीको स्टक निरन्तर बढ्दै गयो र आज यो विश्वको सबैभन्दा महँगो स्टक बनेको छ। 

कम्पनीसँग क्लेटन होम्स मोबाइल होम युनिट र अमेरिकाको सबैभन्दा ठूलो आवासीय रियल स्टेट ब्रोकरेजसहित दर्जनौँ अन्य व्यवसाय पनि छन्। कम्पनीको अधिकांश व्यवसाय अमेरिकामा छ। – एजेन्सी