काठमाण्डौ । वार्षिक बित्तीय विवरण सार्वजनिक गर्ने बिषयमा फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक यसपटक पहिलो हुन सकेन । भर्खरै सकिएको आर्थिक वर्षको वार्षिक बित्तीय विवरण सार्वजनिक गर्ने मामलामा फ्रस्ट माइक्रो फाइनान्स यसपटक दोश्रो भयो । यसअघि हरेक त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्दा नाम जस्तै यो माइक्रो फाइनान्स फ्रस्ट हुँदै आएको थियो। 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा ८ करोड २ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको खूद नाफा ५ करोड ४५ लाखमा सीमित थियो । 

यो अवधिमा कम्पनीले ३ अर्ब २४ करोड रुपैयाँ सापटी लिएको र ३ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ अर्ब ७५ करोड सापटी लिएर २ अर्ब ६१ करोड कर्जा प्रवाह गरेको थियो । 

खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड ८ लाख खूद ब्याज आम्दानी भएकोमा यो वर्ष वृद्धि भई १२ करोड ९३ लाखको उचाईमा पुुगेको छ। 

अघिल्लो वर्ष २० रुपैयाँ ६१ पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्ष २० रुपैयाँ २८ पैसामा झरेको छ भने मूल्य आम्दानी अनुपात ५२.८५ गुणा कायम भएको छ । १३० रुपैयाँ ९८ पैसा प्रति सेयर नेटवर्थ कायम भएको यो कम्पनीको चुक्तापूँजी ३९ करोड ५५ लाख रहेको छ ।