काठमाण्डौ । नेपालमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको तलबको विषयमा सधैं चर्चा हुने गर्छ । कतिपयले बैंकका सीइओहरुको तलब बढी भएको भन्दै कटु आलोचना समेत गर्ने गर्छन् । तर, के नेपालमा मात्रै बैंकका सीइओहरुको तलब बढी हो त ? छिमेकी देशहरुमा कस्तो अभ्यास होला ? त्यहाँका सीइओले कति तलब थाप्लान्?

हामीले भारतका केही बैंकका सीइओहरुको तलबको विषयमा यहाँ चर्चा गर्ने प्रयास गरेका छौं । 

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ सबैभन्दा बढी तलब खाने बैंकका सीइओ हुन् शशीधर जगदीशन । उनी एचडीएफसी बैंकका सीइओ हुन् । उनले वित्त वर्ष २०२२ २३ मा कुल १०.५५ करोड भारु तलबको रुपमा बुझेका छन् । यो भनेको नेपाली झण्डै १७ करोड रुपैयाँ बराबर हो । 

सोही बैंकका एमडी कैजाद भरुचालाई बैंकले १० करोड भारु भुक्तान गरेको छ, जुन सम्भवतः भारतको दोश्रो सबैभन्दा धेरै तलब पाउने बैंक कर्मचारी हुन् ।

भारतका बैंकका सीइओको हकमा एक्सीस बैंकका अमिताभ चौधरीले ९ करोड ७५ लाख भारु तलब बुझेका छन् । 

त्यसपछि आइसीआइसीआई बैंकका सन्दीप बक्षीलाई ९ करोड ६० लाख भारु तलबको रुपमा सो बैंकले भुक्तानी गरेको छ । 

तर, कोटक महिन्द्रा बैंकमा करिब २६ प्रतिशत सेयर राख्ने उदय कोटकले कोभिड १९ महामारीपछि आर्थिक वर्ष २०२२ २३ मा पारिश्रमिकको रुपमा एकरुपैयाँ पनि तलब नलिने निर्णय गरेका छन् । बैंकिंग क्षेत्रमा जागिरको अवसर घट्ने समस्याले ग्रसित भइरहेको बेला कोटक महिन्द्रा बैंकले पारिश्रमिक भने बढाएको छ । यो बैंकमा काम गर्ने व्यवस्थापकीयबाहेकका कर्मचारीको औसत तलब १६.९७ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ । 

यस्तै, आइसीआइसीआई बैंकका कर्मचारीहरुको तलब ११ प्रतिशतले बढेको छ भने एक्सिस बैंकले कर्मचारीको तलबमा औसत ७.६ प्रतिशतको बढोत्तरी गरेको छ । 

एचडीएफसी बैंकले २.५१ प्रतिशत औसत तलब बढाएको छ । चाखलाग्दो कुरा के छ भने फेडरल बैंकको औसत तलब वृद्धि २.६७ प्रतिशत मात्रै थियो, तर पनि यो सबैभन्दा कम एट्रिसन दर हो ।