काठमाण्डौ । तरलता सहज बन्दै गएको अवस्थामा वाणिज्य बैंकहरुले राष्ट्रबैंकको चाहना बुझेर ब्याजदर यथावत राख्ने निर्णय गरे पनि विकास बैंकहरुले भने घटाएका छन् । 

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको बैठकले माघका लागि तय निक्षेपको ब्याजदर फागुनमा थोरै भए पनि घटाउने निर्णय गरेको हो । 

ब्याजदर घटाउने विषयमा विकास बैंकका सीइओहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई कुरेका थिए । समीक्षा सार्वजनिक भएपछि उनीहरुले माघका लागि तय ब्याजदर घटाउने निर्णय गरेका हुन् । 

विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन(डिबान)को आज बसेको बैठकले फागुनका लागि ब्याजदर घटाउने निर्णय गरेको हो। 

डिबानका अध्यक्ष प्रद्युमन पोखरेलले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाउने निर्णय भएको बताए । ‘माघमा कायम ब्याजदरमा ०.२५ प्रतिशतको विन्दु घटाउँदै फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय भएको छ।’ उनले भने। 

हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।