काठमाण्डौ । वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट हालसम्म विभिन्न ८ वटा काम भएका छन्। 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय ग्राहक संरक्षणका लागि राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिकामा यसबारे जानकारी गराइएको हो। 

यस्ता छन् वित्तीय ग्राहक संरक्षणका लागि बैंकबाट भएका कामकारबाही

  • मिति २०६२/०१/११ मा बैंक तथा ऋणीबीचको कारोबारमा कुनै पनि पक्षलाई मर्का पर्न गएमा त्यस्तो मर्काको सुनुवाइको लागि यस बैंकका वरिष्ठ डेपुटी गर्भनरको संयोजकत्वमा एक गुनासो सुनुवाइ इकाइको गठन भई बैंक तथा वित्तीय संस्था नियमन विभागअन्तर्गत रहनेगरी उक्त इकाइको स्थापना भएको थियो। गुनासो सुनुवाइ कार्यलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्न र बैंक वा ऋणी कुनै पक्षलाई पनि मर्का नपरोस् भन्ने हेतुले सो समितिको सहयोगको लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को २०६२ पुस १३ गतेको निर्णयानुसार बाह्य क्षेत्रबाट दुईजना सल्लाहकार समावेश गरी छ महिना अवधिको लागि एक सल्लाहकार समितिसमेतको सहयोग प्राप्त भएको थियो।
  • मिति २०६३/०७/०१ मा केन्द्रीयस्तरमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गुनासोसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रतिनिधि र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने तथा उद्योग वाणिज्य महासंघको प्रतिनिधि पर्यवेक्षकको रूपमा रहनेगरी गुनासो सुनुवाइ उपसमितिको गठन गरिएको थियो। सोही मितिमा यस बैंकका जिल्लास्थित कार्यालयका प्रमुखको संयोजकत्वमा गुनासोसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि सदस्य रहने तथा यस बैंक रहेको जिल्लाको उद्योग वाणिज्य संघको प्रतिनिधि पर्यवेक्षकको रूपमा रहनेगरी जिल्लास्तरमा पनि गुनासो सुनुवाइ उपसमिति गठन गरिएको थियो। केन्द्रीयस्तरमा गुनासो सुनुवाइ इकाइअन्तर्गत अर्को उपसमिति गठन गरिएकोमा त्यसलाई भङ्ग गरी साविकको गुनासो सुनुवाइ इकाइलाई नै विस्तार र पुनर्गठन गर्न उपयुक्त हुने देखिएकोले नेपाल सरकारको २०६३ मंसिर २९ को निर्णयानुसार डेपुटी गभर्नरको संयोजकत्वमा अर्थ मन्त्रालयको प्रतिनिधि र नेपाल बैंकर्स संघको अध्यक्ष सदस्यको रूपमा रहने तथा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि पर्यवेक्षकको रूपमा रहनेगरी २०६३ पुस २० गते गुनासो व्यवस्थापन समिति पुनर्गठन गरिएको थियो। 
  • बैंक तथा वित्तीय संस्था नियमन विभागको मिति २०७१/०९/११ को परिपत्रमार्फत यस बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त वित्तीय संस्थाले प्रदान गर्ने सेवाबारे सर्वसाधारणलाई थप सुसुचित गर्न, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाबापतको शुल्क पारदर्शी रूपमा लिने व्यवस्था मिलाउन र बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्न “वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता” सम्बन्धी निर्देशन जारी गरिएको थियो। उक्त निर्देशनको मुख्य व्यवस्था देहायबमोजिम रहेकोः

(अ) इजाजतपत्रप्राप्त संस्थाले आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दा सम्पूर्ण सर्तहरू (शुल्क, कमिसन, व्याजदर, जरिवाना, हर्जाना आदि) सरल भाषामा सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने,

(आ) ज्येष्ठ नागरिक तथा शारीरिक अपाङ्गता भएका (फरक किसिमले सक्षम) व्यक्तिहरूलाई विशेष प्राथमिकता दिई सरल बैंकिङ सुविधा उपलब्ध गराउने, 

(इ) खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्कसम्बन्धी, सेवाशुल्क, व्याजदर आदिसम्बन्धी व्यवस्थाको जानकारी गराउनुपर्ने।

(ई) बैंक वित्तीय संस्थाले अनिवार्य रूपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पु¥याउने विज्ञापन तथा सूचनाहरू प्रकाशन गर्नुपर्ने।

(उ) ग्राहक संरक्षणको निम्ति इजाजतपत्रप्राप्त संस्थाले “सूचना तथा गुनासो सुनुवाई डेस्क” स्थापना गरी सोको सार्वजनिक जानकारी दिने, गुनासो सुनुवाइका लागि हटलाइनको व्यवस्था गर्नुपर्ने र वेबसाइटमा गुनासो सुनुवाइको लागि अनलाइन पोर्टलको व्यवस्था गर्नुपर्ने।

  • आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको बुँदा नं. १०६ को व्यवस्थाअनुरूप वित्तीय सेवाका ग्राहकको हित संरक्षणको लागि यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा वित्तीय ग्राहक संरक्षण इकाइ स्थापना गरिएको थियो।
  • यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्रप्राप्त वित्तीय सेवा प्रदायकले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट बैंकिङ मूल्य र मान्यता एवम् नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने÷गराउने कार्यको सुनिश्चितताको लागि गुनासो व्यवस्थापनमार्फत वित्तीय ग्राहकको हित संरक्षण गर्न मिति २०७७/०६/१२ मा ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरिएको थियो।
  • आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको बुँदा नं १६८ मा “सर्वसाधारणको बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासो तथा सुझाव यस बैंकको वेबसाइटमा छुट्टै पोर्टलमार्फत समेत प्राप्त गर्ने व्यवस्था गरिनेछ। यस बैंकमा स्थापित वित्तीय ग्राहक संरक्षण इकाइमार्फत सबै प्रकारका गुनासो तथा सुझावहरूको कार्यान्वयन हुने व्यवस्था मिलाइने छ” भन्ने लक्ष्यलाई कार्यान्वयन गर्न मिति २०७८/०१/०२ देखि सर्वसाधारणको बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासो तथा सुझाव सहज रूपमा प्राप्त गरी सोको समाधान गर्न इलष्लिभ गुनासो पोर्टल सञ्चालनमा ल्याइएको छ। 
  • वित्तीय समावेशिता तथा ग्राहक संरक्षण कार्यलाई थप महत्वका साथ सञ्चालन गर्न यस बैंकले मिति २०७९/०४/०१ गते गभर्नरको कार्यालयअन्तर्गत ‘वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा स्थापना गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागअन्तर्गत रहेको वित्तीय ग्राहक संरक्षण इकाइलाई यस महाशाखामा रूपान्तरण गरिएको छ।
  • मिति २०७९/०८/०८ मा ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ मा पहिलो पटक संशोधन गरिएको छ।