काठमाण्डौ । संस्थागत सुशासन र उच्च नाफा कमाउँदै आफ्ना सेयरधनीहरुलाई उच्च रिटर्न दिने अवस्था बनाउनु । नेपालको दोश्रो बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको समूहमा मात्र नभई समग्रमै ब्लुचिप कम्पनीको रुपमा परिचित फरवार्ड माइक्रोफाइनान्स पछिल्लो समय भने खिइँदै र कमजोर बन्दै गएको छ । 

नेपाल राष्ट्रबैंकले लिएको नीतिका कारण यो माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य केही बिग्रिए पनि बाँकी आफ्नै कारणले यो कम्पनी ओरालो लाग्न थालेको देखिएको छ । कम्पनीले लगानी गर्दा जोखिम मूल्याङ्कनमा पर्याप्त ध्यान नदिएका कारण लोनहरुमा समस्या देखिन थालेको छ भने यसको प्रभाव कम्पनीको वित्तीय विवरण तथा संस्थागत सुशासनसम्म परेको छ । 

वित्तीय व्यवस्थापन, लगानीमा पर्याप्त सचेतता र बुद्धिमता अपनाइएन भने ब्लुचिप भइसकेका कम्पनीहरु पनि कसरी ओरालो लाग्छन् भन्ने कुराको पछिल्लो उदाहरण फरवार्ड बन्नसक्ने अवस्था देखिन्छ । यहीकारण यो कम्पनीको व्यवस्थापनले बिग्रिएको वित्तीय स्वास्थ्यमा सुधार गर्नु त परैको कुरा संस्थागत अनुशासन पनि मान्न छाडेको छ । 

लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेर निराश बनाएको यो कम्पनीले बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई पनि चिँढाएको छ । नेप्सेले वर्षौदेखि कार्यान्वयनमा ल्याएको धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्थाको समेत बर्खिलाप हुने गरी काम गरेको देखिएको छ । 

फरवार्डले यसपटक लाभांश वितरण नगर्ने निर्णय गर्दा नेप्सेमा निकै ढिलो मात्र सूचना दिएको हो । यहीकारण नेप्सेले यो कम्पनीको कारोबार निलम्बन गरी स्पष्टीकरण सोधेको छ । 

कम्पनीको बुधबार बसेको बैठकबाटै गत वर्षको सञ्चित नाफा वा वितरणयोग्य मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय भएको थियो । तर, नेप्सेमा सूचना भने त्यसको भोलिपल्ट(आज) दिउँसो १२.४६ बजे मात्र दिइयो । यो सूचना कारोबार समयमा प्राप्त भएको भन्दै त्यसले सूचीकरण विनियमावलीमा भएको व्यवस्था उल्लंघन भएको नेप्सेको ठहर छ । 

नेप्सेको सूचीकरण शाखाले चित्तबुझ्दो कारणसहित ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न पनि फरवार्डलाई निर्देशन दिएको छ । 

लाभांश इतिहास
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २२ करोड १४ लाख बढी नाफा आर्जन गरेको थियो । त्यसको ठीक अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ६३ करोड माथि थियो । 

गत आर्थिक वर्षमा फरवार्डमा लोन बिग्रिएको खराब कर्जा अनुपातको थुप्रो नै लागेको देखिन्छ । सो अवधिको खराब कर्जाको अनुपात ४.२६ प्रतिशत रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिसम्म भने १.८३ प्रतिशत मात्र थियो । 

नाफा ह्वात्तै घटेको, खराब कर्जा उसैगरी बढेको र संस्थागत सुशासन समेत बिग्रिएर कम्पनी धराशायी बनेको यसबाट देखिन्छ । 

यसपटक लगानीकर्तालाई निराश बनाए पनि यो कम्पनीको लाभांश इतिहास भने लोभलाग्दो छ । 

गत वर्ष फरवार्डले ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । 

सबैभन्दा बढी चाहि आर्थिक वर्ष ०७३-७४ मा ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

हालसम्मको कम्पनीको लाभांश इतिहास टेबलमा हेर्नुहोस्: