काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम सप्ताहमा विदाको दिन शनिवार समेत सरकारी कारोबार गर्ने बैंकहरुलाई राजश्व बुझ्ने व्यवस्था मिलाउन नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ । 

शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले चालु आबको राजश्व बुझ्ने अन्तिम सप्ताह भएकोले असार २५ गते शनिवार र असार ३१ गते शुक्रबार पूरा समय बैंक खोल्न निर्देशन दिएको हो । 

शनिवार(भोलि) अपरान्ह ४ बजेसम्म र आगामी शुक्रबार साँझ ५ बजेसम्म बैंक खोलेर राजश्व बुझ्न निर्देशनमा भनिएको छ ।

आर्थिक वर्षको अन्तिम सप्ताहमा राजश्व बुझाउने चटारो हुने भएका कारण यस्तो कामलाई व्यवस्थित गर्न सूचना जारी गर्नुपरेको प्रवक्ता त्रिलोचन पंगेनीले बताए । ‘यो समयमा सबैलाई चटारो हुन्छ ।’ उनले थपे–‘सरकारी राजश्व समयमै जम्मा होस् भनेर यो व्यवस्था लागू गरेका हौ । यसले करदातालाई सहज हुनेछ ।’