काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका श्रमिकलाई बैंकिङ च्यालनबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न थप नयाँ व्यवस्था ल्याएको छ। 

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत तथा मुद्दति निक्षेप खातामा राखेमा न्यूनतम १ प्रतिशत विन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्ने भएको छ। यसअघि यस्तो व्यवस्था थिएन। 

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्तहुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिटयान्स) बचत खातामा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दुथप गरी ब्याजदर प्रदान गर्नुपर्ने व्यवस्था थियो। 

अब भने वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिटयान्स) बचत खातामा निक्षेप राखेमा, सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत÷ मुद्दती निक्षेप खातामा राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।