काठमाण्डौ । रुस–युक्रेन युद्धबीच भारतमा वैश्विक दबाब बढिरहेकै बेला अमेरिकाको मौद्रिक नीतिका कारण विदेशी लगानीकर्ता भारतीय बजारबाट बाहिरिन थालेका छन्। यस्तो नाजुक अवस्थामा भारतमा आर्थिक संकट आयो भने अब भारतले विदेशी मुद्रा सञ्चितीबाट वर्षभरिको आयातमात्र धान्न सक्नेछ। 

श्रीलंकामा अहिले देखिएको आर्थिक संकटका थुप्रै कारणमध्ये एउटा विदेशी मुद्रा सञ्चिती कम हुनु पनि हो। 

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को भर्खरैको तथ्यांकका अनुसार मार्च ३१ सम्म भारतको विदेशी मुद्राको सञ्चिती ६०७.३ अर्ब डलर रहेको छ। यो रकम सन् २०२१–२२ को कुल आयातको बराबर थियो। यसलाई अर्को हिसाबले हेर्दा सन् २०२१ को डिसेम्बरको अन्त्यसम्ममा भारतले बाँकी रहेको विदेशी ऋणको ९८.८ प्रतिशत तिर्न सक्छ। जब कि एक वर्षअघि अर्थात् २०२१ को मार्चसम्म सोही रकमले देशको १७.४ महिनाको आयात पूरा गर्न सक्थ्यो। 

भारतको विदेशी मुद्रा सञ्चिती अक्टोबर २०२१ मा रेकर्डतोड उचाइमा थियो। त्यतिबेला यो ६४२ अर्ब डलर सञ्चिती थियो। मार्च २०२२ को अन्त्यसम्म यो ६०७ अर्ब डलरमा झरेको छ। जब कि डिसेम्बर २०२१ मा भारतमा आयात गरिएका सामानको मूल्य हालसम्मकै उच्च ६०.३ अर्ब डलर पुगेको थियो।

भारत अझै पनि विश्वमा लगानीका लागि सबैभन्दा मनपर्ने गन्तव्यमध्ये एक हो। तर, सन् २०२१ अक्टोबरदेखि २०२२ जनवरीसम्मको अवधिमा भारतमा प्रत्यक्ष विदेशी लगानी घटेको छ। प्रत्यक्ष विदेशी लगानीले देशभित्र र बाहिर कुल एफडीआईबीचको भिन्नतालाई बुझाउँछ। भारतमा अक्टोबर–जनवरीमा यो ११ अर्ब डलरसम्म पुगेको छ। जब कि गत वर्ष अक्टोबर २०२० देखि जनवरी २०२१ सम्मको अवधिमा यो १८.९ अर्ब डलर थियो।

आर्थिक वर्ष २०२१–२२ को पहिलो र दोस्रो त्रैमासमा भारतमा ठूलो मात्रामा लगानी गरेका विदेशी पोर्टफोलियो लगानीकर्ता र एफडीआई कम्पनीहरु कोभिडको नयाँ लहरको डरले तेस्रो त्रैमासमा भारतीय बजारबाट निस्कन थालेका छन्। कोभिडबाहेक भारतमा विदेशी मुद्राको सञ्चिती घट्नुको पछाडि अमेरिकाको मौद्रिक नीति, भूराजनीतिक अवस्था र सेयर बजारमा आएको गिरावट पनि मुख्य कारण हुन्। –एजेन्सी