काठमाण्डौ । विदेशी मुद्राको सञ्चिति १२.६ महिनाको वस्तु आयात धान्न अवस्थामा रहेको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिना साउन र भदौको तथ्यांकले यस्तो देखाएको हो। चालु आर्थिक वर्षको २ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

२०८० भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.७ प्रतिशत, ८६.० प्रतिशत र २६.२ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए।

२०८० असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भई २०८० भदौ मसान्तमा रु. १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ।