काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिती पाँच महिनाको अवधिमा १५ .६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई रु.१५५६ अर्ब २५ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्घि भई रु.२१० अर्ब ७९ करोड कायम भएको छ । २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।