काठमाण्डौ । नेपाली परिवेशअनुसार अहिलेको समय भनेको घुम्ने सिजन हो । नेपालीहरु विशेषगरी दसैंसुरु भएलगत्तै घुम्न निस्कन्छन् ।

स्वदेशमा मात्रै नभई विभिन्न देशमा समेत घुम्न जाने नेपालीको लर्को देखिन्छ । विभिन्न देशको परिवेश, रहनसहन, जीवनशैली, विकास, संस्कृति, परम्परालगायत विभिन्न कुराहरु विदेश यात्राबाट सिक्ने अवसर प्राप्त हुन्छ ।

तर हामी यात्राको क्रममा विभिन्न खालका समस्याहरु आउने कुरामा भने त्यति सजग हुँदैनौं । 

विदेश भ्रमणका क्रममा विशेषगरी चोरी हुने, सामान हराउने, स्वाथ्य अवस्था बिग्रने वा दुर्घटना भई चोटपटक लाग्ने समस्या आउने गर्दछ । विदेश भ्रमण तथा यात्रामा निस्कने जो कोहिले पनि आफ्नो भ्रमण आरामदायी वा सुखमय होस् भन्ने चाहन्छ नै ।

आफ्नो यात्रालाई आरामदायी वा आनन्दमय बनाउनका लागि वा यात्रालाई सुरक्षित बनाउन भने ‘यात्रा बीमा’ गर्नु आवश्यक हुन्छ ।मनोरञ्जनको लागि, छुट्टि मनाउन तथा व्यापार व्यवसायलगायत विभिन्न उद्देश्यले विदेश यात्रा गर्दा हुने दुर्घटना, आपतकालिन औषधी उपचार खर्च, व्यक्तिगत कारणबाट सृजना हुने दायित्वको रक्षावरण गर्ने उपाय नै ‘विदेश यात्रा बीमा’ हो । 

हाल नेपालमा सञचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले यात्रा बीमा सेवा दिइरहेका छन् । जुनसुकै कम्पनीबाट यात्रा बीमा सजिलै खरिद गर्न सकिन्छ ।निश्चित बीमाशुल्क भुक्तानी गरेपछि यात्रा बीमा योजना खरिद गर्न सकिन्छ । 

तपाईंको उमेर, घुम्न जाने मुलुक, यात्रा अवधि र उमेर अनुसार बीमाशुल्क भुक्तानी गरेपछि मात्रै यात्रा बीमा योजना खरिद गर्न सकिनेछ । 

विदेश यात्रा बीमा कस्तो खालको बीमा पोलिसी हो ?
नेपालबाट काम वा मनोरञ्जनको क्रममा छोटो समयका लागि देशबाहिर जाने व्यक्तिलाई लक्षित गरिने योजना नै विदेश यात्रा बीमा हो । तुलनात्मक रूपमा नेपालमा भन्दा विदेशमा औषधि उपचार खर्च महँगो हुन्छ । विदेश जाने क्रममा बिरामी वा दुर्घटना भएमा धेरै खर्च हुन सक्छ । त्यसैले, विदेश जाँदा हुन सक्ने दुर्घटना वा बिरामी भएको अवस्थामा हुने उच्च आर्थिक क्षतिबाट सुरक्षित हुने माध्यम हो यस्तो बीमा । यो बीमा नेपालमा अहिले निकै चलनचल्तीमा छ । अहिले केही विदेशी दूतावासले भिसा जारी गर्दा नै यस्तो बीमा अनिवार्यसमेत गरेको छ ।  

यसले समेट्ने मुख्य मुख्य जोखीमहरू यस्ता छन् :
यो योजनाअन्तर्गत दुई खालको जोखीम समेटिन्छन् । एउटा व्यक्तिगत दुर्घटना र अर्को औषधोपचार खर्च । विदेश जाँदा व्यक्तिगत दुर्घटना भएमा २५ लाख रुपैयाँसम्मको क्षति यो बीमा योजनाले बेहोर्छ । त्यस्तै, मृत्यु वा अङ्गभङ्ग भएमा योजनामा तोकिएको बीमाङ्क रकमअनुसार क्षतिपूर्ति दिइन्छ । मुख्यतया यूरोप र अमेरिकाका लागि १ लाख डलरसम्मको औषधोपचार यहाँका कम्पनीले ल्याएको यस्तो बीमा योजनाले समेट्छ । पहिलेदेखिको रोग रहेको अवस्थामा बाहेक अन्य सबै खालको स्वास्थ्य समस्याको उपचारलाई यस्ता योजनाले समेट्छ ।

नेपालमा यस्तो बीमा पोलिसीको अवस्था कस्तो छ ?
अन्य पोलिसीको तुलनामा यसले व्यापकता पाएको छैन । किनभने, नेपालबाट घुम्न वा छोटो अवधिका लागि कामको क्रममा लागि विदेश जानेको सङ्ख्या कम छ । तर, विदेश जानेहरूमाझ यो लोकप्रिय हुँदै गएको छ ।  नेपालमा यसको माग बढ्दै गएको छ । नेपालबाट विदेश भ्रमण जाने व्यक्ति, खेलाडी र सांस्कृतिक कार्यक्रम लिएर जानेहरूले प्रायः यस्तो खालको बीमा गर्छन् ।


यात्रा बीमा गर्दा हुने फाइदाहरु :
–विदेश यात्रामा जाँदा विशेषगरी आकस्मिक औषधि उपचार खर्च, एअर एम्बुलेन्स खर्चको व्यवस्था हुन्छ । 

चेक इन गरि लगिएको लगेज हराएमा वा राहदानी हराएमा यात्रा बीमाले कभर गर्दछ । 
परिवारका सदस्यको मृत्यु भएर आकस्मिक घर फकर्नु परेमा त्यसको खर्चसमेत यात्रा बीमाले कभर गर्दछ । 
साथै दैवी प्रकोप वा कानूनी दायित्व र व्यक्तिगत दायित्वको कारणबाट परिआउने खर्च आदिलाई समेत यात्रा बीमाले कभर गर्दछ ।