काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट अनलाइन जुवा र बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिएको छ। 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना जारी गर्दै यस्तो दिएको हो। अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेटजस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन सर्वसाधारणलाई सूचित गरिएको छ। 

सूचनामा भनिएको छ, ‘जुवा तथा बाजीजन्य कार्यहरु गैरकानुनी हुन्, यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ।’

विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजीलगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह वा संस्थालाई कानुनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेटलगायतबाट हुने कारोबारहरु रोक्का गरिने राष्ट्र बैंकले चेतावनी दिएको छ। 

राष्ट्र बैंकबाट इजाजत तथा अनुमतिपत्रप्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोवाइल वालेटलगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि सूचनामा उल्लेख छ। 

कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा राष्ट्र बैंकको फोन नम्बरः ०१–४४४३८७८ वा ई–मेल ठेगाना psdept@nrb.org.np मा जानकारी गराउन सूचनामार्फत अनुरोध गरिएको छ।