काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज काठमाण्डांमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी–२०८०’ कार्यक्रम आयोजना गरेको छ। 

विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो।

गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहनका निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरे। 

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सब्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनीहुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो।

कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारीसहित ६०० भन्दा बढीको सहभागिता थियो।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवर्द्धन वर्ष’ का रुपमा मनाउने घोषणा गरिएको थियो।