काठमाण्डौ । आजभोलि आर्थिक मन्दी छ, व्यापार नै छैन भन्ने स्वर जोसुकै व्यापारीको मुखबाट सुनिने गर्दछ । व्यापार हुनै छाड्यो, सरकार पनि कानमा तेल हालेर बसेको छ भन्ने पनि सुनिन्छ । सबै काम सरकारले गर्ने हो कि ? बजारले गर्ने हो कि ? दुवैको मिश्रणबाट हुने हो ? यो बारेमा पनि अर्थ-राजनीतिक छलफल अझै हुन सकेको छैन । तापनि व्यापार नहुँदा सटर बन्द भइरहेको छ ।

व्यवसायीहरु दैनिक रुपमा व्यवसायबाट पलायन भइरहेका छन् । तर यहि समयमा पनि अलिकति आईडिया लगाउने व्यवसायीहरुले राम्रो आम्दानी लिइरहेका छन् ।

उनीहरुले त कहिल्यै आर्थिक मन्दी छ पनि भनेका छैनन्,अनि सरकारलाई दोष पनि दिएका छैनन् । नेपाली उखानै छ, ‘बोल्नेको पिठो पनि बिक्री हुन्छ, नबोल्नेको चामल पनि बिक्री हुँदैन ।’ यो उखान त्यसै प्रचलनमा आएको भने होइन ।

थाहै छ, आजको युग भनेको प्रविधि र सामाजिक सञ्जालको युग हो । हुन त अहिले अनलाइनबाट व्यापार/व्यवसाय गर्ने धेरै छन् ।अनलाइन व्यापार गर्नेले कम्पनी दर्ता पनि गर्नुपर्दैन  । 

काठमाण्डौको व्यस्त बजार न्यूरोडकी कपडा व्यापारी उर्मिला अर्यालले अनलाइन व्यापारीले गर्दा परम्परागत व्यापार संकटमा आएको बताइन् । उनले थोकमा खरिद गर्दा ४ हजार  रुपैयाँ पर्ने जुत्ताको मूल्य अनलाइनमा भने ३ हजार ५००  रुपैयाँमा  पाइने बताइन् । त्यसैले आफ्नो व्यापार व्यवसाय बृद्धि गर्न र मनग्गे आम्दानी गर्न प्रविधि र सामाजिक सञ्जाल प्रभावकारी सावित हुन सक्दछ । तपाईका प्रोडक्ट तथा कम्पनीको बारेमा यदि वेबसाइट,फेसबुक,ट्वीटर, टिकटक, इन्ष्टाग्राम, भाइबर जस्ता अनेकन सामाजिक सञ्जालमा राख्ने हो भने व्यापार बृद्धि हुन्छ ।

आन्दानी पनि क्रमश : बृद्धि हुँदै जान्छ । यसका लागि आजैदेखि यसमा लाग्नुहोस् । व्यापार कसरी बढाउने त ? भन्ने बारे जानकारी दिन आजको वित्तीय सचेतनाको श्रृंखलामा केही टिप्स प्रस्तुत गरेका छौं।

१.गूगल विजनेश प्रोफाइल:

आजको युग विज्ञापन र प्रचार प्रसारको समय भएकाले यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । सर्वप्रथम गूगलमा बिजनेश प्रोफाइल बनाउनु होस ।यसमा तपाईले गूगल म्याप र अफिसको लोकेसन अपडेट गर्नुहोस् ।यसले पनि व्यापार बृद्धिमा सहयोग पुरयाउँछ ।

२. आकर्षक वेबसाइट:

निर्माण आकर्षक र राम्रो वेबसाइट बनाउनु होस । यसले कारोबारको अनलाइन पहिचान गर्न उपभोक्तालाई सजिलो हुन्छ । यसले उपभोक्तालाई तपाईको वेबसाइट वा सर्च इन्जिन हेर्ने वित्तीकै प्रोडक्ट र मूल्य बारे थाहा हुन मद्दत गर्दछ ।

३. गूगल एडस् :

अधिकतम मात्रामा गूगल एड्स चलाउनु होस् । यदि अधिकतम् मात्रामा गूगल एड्स चलाउनुभयो भने तपाईको वेबसाइट टपमा आउन सहयोग पुग्दछ । जसले गर्दा तपाईको वेबसाइटमा धेरै भिजिटरले भिजिट गर्नेछन् ।यसले तपाईको कारोबारमा बृद्धि हुन जान्छ ।

४. ग्राहक समिक्षा :

अनलाइन अर्डर गर्ने ग्राहक वा पसलमा आउने ग्राहकलाई सेवा दिएपछि उनीहरुबाट फिडब्याक(प्रतिक्रिया) लिन नभुल्नु होस् ।यसबाट ग्राहक तथा उपभोक्ता सन्तुष्ट भए नभएको थाहा पाउन सकिन्छ । रिभ्यूज(समीक्षा) ले ग्राहकलाई पुन : जोड्न मद्दत मिल्दछ ।

५. सामाजिक सञ्जालको प्रयोग :

आजभोलि सामाजिक सञ्जालका प्रयोगकर्ताहरु बढेको बढ्यै छन् । व्यापार पनि सामाजिक सञ्जालकै प्रयोगबाट दिनप्रतिदिन बढिरहेको छ । त्यसैले जतिसक्दो प्रचारप्रसार बढी हुन्छ, त्यतिै नै व्यापार पनि बढ्छ । सामाजिक सञ्जालमा आफ्नो कारोबारको बारेमा निरन्तर अपडेट गरिरहनु होस् । यसले तपाईको कारोबार बृद्धिमा अप्रत्याशित मोड आउन थाल्दछ ।

६. सहयोग:

डिजिटल्ली व्यापार बृद्धि गर्नको लागि एक अर्काको सहयोग लिने र सहयोग दिने बानीको विकास गर्नुहोस् ।यसले तपाईको ग्राहकसंख्या बढाउन मद्दत पुर्‍याउँदछ । -एजेन्सीहरुको सहयोगमा