काठमाण्डौ । विशेष साधारणसभा स्थगनको बिषयमा मेगा बैंकले आधिकारिक धारणा सार्वजनिक गरेको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै बैंकले आवश्यक कोरम नपुुगेकोले साधारणसभा स्थगित भएको प्रष्टीकरण दिएको हो । 

विज्ञप्तिमा मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले मर्जरजस्तो महत्वपूर्ण निर्णय लिनका लागि अर्को साधारणसभा आह्वान गर्न लागिएको बताएका उल्लेख छ । 

अर्को साधारणसभा आह्वान गरी टुरिजम विकास बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन शेयरधनीले संचालक समितिलाई अनुमति दिएका झूठा दाबी विज्ञप्तिमा गरिएको छ । सोमबार साधारणसभा प्रयोजनका लागि उपस्थित सहभागी अधिकांश सेयरधनीले टुरिजम डेभलपमेन्ट बैंकसँगको सेयर स्वाप रेसियोको बिषयमा आपत्ति जनाएका थिए । मर्जरको सम्झौता हुँदाताकाको १०० बराबर ९५ कित्ता सेयर स्वाप रेसियो नै पारित गर्ने गरी संचालकहरुले पेल्न खोजेपछि सेयरधनीहरुले आपत्ति जनाएका थिए । उनीहरुले डिडिएको क्रममा आएको १०० बराबर ९१.९७ कित्ताको सेयर स्वाप रेसियो मात्र स्वीकार हुने बताएपछि यही बिषयले निकै ठूलो रुप लिई साधारणसभामै भाँडभैलो भएको थियो । अधिकांश सेयरधनीले साधारणसभास्थल छाडेर हिँडेपछि आवश्यक कोरम पुुगेको थिएन । तर, बैंकबाट जारी विज्ञप्तिमा भने सेयर स्वाप रेसियोको विवाद लगायतको बिषयमा कुनै कुरा उल्लेख गरिएको छैन । 

बैंकले  अर्को विशेष साधारणसभा छिट्टै बोलाइने जनाएको छ । 

यसैबीच, दुई जना शेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको बैंकले जनाएको छ । साधारणसभा अघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले दाबी गरेको छ । 

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका बाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुने समेत बताइएको छ ।