काठमाण्डौ । अमेजन डट कमका सुरुआतकर्ता जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसबीच सम्बन्ध बिच्छेदको निवेदनमा गत शुक्रबार अमेरिकाको सिएटल क्षेत्रका न्यायाधीशले मन्जुरी दिएका छन् । 

न्यायाधीशको मन्जुरीसँगै सम्बन्ध बिच्छेदको सम्झौताबमोजिम म्याकेन्जीले ३८.३ अर्ब अमेरिकी डलर पाउने भएकी छन् । यो विश्वकै सबैभन्दा महँगो सम्बन्ध बिच्छेद हो । 
यो रकम पाएपछि म्याकेन्जी विश्वकै तेस्रो धनाढ्य महिला बन्ने छिन् । साथै ब्लुमवर्गको बिलिनयर्स इन्डेक्समा उनी २२ औँ स्थानमा हुने छिन् । अर्थात् उनको नाम विश्वकै २२ औँ धनाढ्य व्यक्ति सूचीमा रहनेछ । 

सम्बन्ध बिच्छेदमा यत्रो ठूलो धनराशि म्याकेन्जीलाई दिएर पनि बेजोस विश्वकै सबैभन्दा धनाढ्यको सूचीमा नम्बर १ मै रहेछन् । 

मिडिया रिपोर्टअनुसार बेजोसले म्याकेन्जीलाई दिनुपर्ने सम्पत्तिको ट्रान्सफर प्रक्रिया जुलाईको अन्त्यसम्म पूरा हुनेछन् । म्याकेन्जीलाई यो रकम अमेजनको सेयरका रुपमा दिइनेछ । यद्यपि म्याकेन्जीलाई यो सेयरको बदलामा भोटिङ राइट दिइएको छैन । यसको मतलब म्याकेन्जीलाई कम्पनीको सेयर पाए पनि कामकाजमा कुनै किसिमको हस्तक्षेप गर्न पाउने अधिकार दिइएको छैन । यो सबै अधिकार बेजोसमै सुरक्षित रहनेछ । 

यसअघि म्याकेन्जीले ट्विट गर्दै भनेकी थिइन्, ‘बेजोससँग विवाहदेखि सम्बन्ध बिच्छेदसम्मको प्रक्रिया पूरा भएकोले म अभारी छ ।’

बेसोजले पनि यसअघि आफ्नो सार्वजनिक मन्तव्यमा म्याकेन्जीले आफ्नो सबै काममा सघाउँदै आएको र उनी एक असाधारण पार्टनरका साथै असल आमा पनि रहेको बताएका थिए । दुवैले गत अप्रिलमा सम्बन्ध बिच्छेका लागि अदालतमा निवेदन दिएका थिए । अदालतको फैसला आएपछि दुवैजना आधिकारिक रुपमा अलग भएकाछन् ।

अमेजन विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी कम्पनी हो । सम्बन्ध बिच्छेदको मन्जुरी अदालतबाट पाउना साथै कम्पनीको ४ प्रतिशत सेयर म्याकेन्जीको नाममा ट्रान्सफर हुने अमेजनले जनाएको थियो । यसका बाबजुद पनि कम्पनीमा बेजोसको सेयर १२ प्रतिशत बच्ने छ । – एजेन्सी