काठमाडौं । भारतीय शेयर बजार हालै फ्रान्सलाई पछि पार्दै विश्वको पाँचौं ठूलो शेयर बजार बनेको छ । 

अमेरिकी सर्ट सेलिङ फर्म हिन्डनबर्ग (२४ जनवरी २०२३)को प्रतिवेदनपछि, अडानी समूहको शेयरमा भारी बिक्रीका कारण यो वर्ष जनवरीमा छैटौं स्थानमा झरेको थियो। तर अडानी समूहको सेयरमा आएको सुधार र विदेशी लगानीकर्ताले गरेको खरिदका आधारमा भारतीय सेयर बजारले आफ्नो गुमाएको स्थिति पुनः प्राप्त गर्न सफल भएको हो । 


१ देखि ३ लाख करोडको यात्रा
मे २८, २००७ मा भारतीय स्टक बजारले पहिलो पटक १ ट्रिलियन डलर अर्थात लगभग ८२ लाख करोड भारु बराबरको बजार पूँजीकरण बनाएको थियो । तर, बजारले २ लाख करोड डलर अर्थात १६४ लाख करोड भारु बराबरको बजार पूँजीकरण छुनका लागि अर्को १० वर्ष कुर्नुपरेको थियो । 

अन्ततः, प्रतिक्षाको अन्त्य १६ मे २०१७ मा भयो, जबकि २ लाख करोड डलरबाट ३ लाख करोड अर्थात् २४६ लाख करोड भारुसम्मको यात्रा गर्न मात्र ४ वर्ष लाग्यो। २४ मे २०२१ मा, भारतीय शेयर बजारले पहिलो पटक ३ ट्रिलियन डलरको मार्केट क्याप छोयो। यति मात्र होइन, सेयर बजारमा लगानीकर्ताको संख्या पनि ११ करोड नाघेर ११ करोड ४४ लाख पुगेको छ ।

बीएसई सेन्सेक्स सन् १९९० मा पहिलो पटक १ हजारको स्तरमा पुगेको थियो । २५ जुलाई १९९० मा  बीएसई सेन्सेक्स पहिलो पटक १ हजारको उचाई छोयो। १ हजारबाट १० हजार ( ६ फेब्रुअरी २००६) आउन लगभग १६ वर्ष लाग्यो । तर, १० हजारदेखि ६० हजारसम्मको यात्रा १५ वर्षमा मात्रै सकियो ।

अझै पनि अमेरिकाभन्दा धेरै पछि
वल्र्ड फेडेरेसन अफ एक्सचेन्जको तथ्यांकअनुसार गत वर्ष विश्व बजार क्यापमा अमेरिकी बजारको हिस्सा ४१ प्रतिशत थियो भने भारतको हिस्सा ३ प्रतिशत मात्रै थियो । अमेरिकाको ५५ प्रतिशत भन्दा बढी जनसंख्या त्यहाँको शेयर बजारसँग जोडिएको छ, जब कि भारतमा यो संख्या ३ प्रतिशत मात्रै छ। तर यसको मतलब यो पनि हो कि भारतीय शेयर बजारमा अझै धेरै सम्भावना बाँकी छ।

रोचक इतिहास
यो चार गुजराती र एक पारसी स्टक ब्रोकरहरूले सुरु गरेका थिए। सन् १८५० मा मुम्बईको टाउन हलको अगाडिको बरगदको रुखमुनि बसेर विभिन्न व्यापारीहरूसँग भेटघाट गर्थे ।

दलालहरुको संख्या बढ्दै गयो । यससँगै १८५५ मा उनीहरुले शेयर बजार कारोबार सुरु गरे ।

सन् १८७५ मा उनीहरुले आफ्नो ‘द नेटिभ सेयर एण्ड स्टक ब्रोकर्स एसोसिएसन’ गठन गरे। दलाल स्ट्रीटमा अफिस पनि किने ।

स्टक एक्सचेंज आधिकारिक रूपमा ९ जुलाई १८७५ मा सुरु भयो । आज यसलाई बम्बई स्टक एक्सचेञ्ज(बीएसई) भनिन्छ । 

भारत सरकारले १९५७ मा धितोपत्र अनुबन्ध नियमन ऐन अन्तर्गत बीएसईलाई मान्यता दियो।

बीएसई सेन्सेक्स १९८६ मा सुरु भएको थियो, आधार वर्ष १९७८ ७९ र आधार १०० अंकको साथ । नेशनल स्टक एक्सचेञ्ज(एनएसई)को स्थापना चाहिँ सन् १९९२ मा भएको थियो । यसलाई पुँजी बजार नियामक सेबीद्वारा अप्रिल १९९३ मा स्टक एक्सचेन्जको रूपमा मान्यता दिइएको थियो।

पहिले शेयर बजार कसरी चल्थ्यो ?
कम्प्युटरको व्यापक प्रयोग हुनुअघि सेयर बजारमा ‘ओपन आउटक्राइ’ नामक म्यानुअल प्रक्रियाबाट कारोबार हुन्थ्यो। यसमा व्यापारी र दलालहरू शेयर खरिद बिक्री गर्न स्टक एक्सचेन्जमा भेला हुने र फिजिकल बिडिङमा भाग लिने, जसमा सामान्य बोलपत्र प्रक्रियाजस्तै कुन कम्पनीको कति शेयर कुन मूल्यमा किन्ने वा बेच्ने भन्ने निर्णय हुने गरेको छ ।

स्टकको मूल्य र मात्रामा सहमत भएका विवरणहरू बोलपत्र प्रक्रियामा रेकर्ड गरिएको हुन्थ्यो। साथै खरिदकर्ता तथा बिक्रेताहरुलाई सम्झौता सम्बन्धी आवश्यक प्रमाण पत्र प्रदान गरिएको थियो । स्टक एक्सचेन्जमा फिजिकल बिडिङ मार्फत हुने हरेक कारोबारलाई केन्द्रीकृत खातामा रहेको स्टकको स्वामित्व अनुसार अद्यावधिक गरिएको थियो। यस प्रक्रियामा दलालहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दथे, जसले आपसी सञ्चार र विश्वासको आधारमा नेटवर्क निर्माण गर्थे। म्यानुअल भएकोले, प्रक्रिया सुस्त थियो। यसमा गल्ती हुने सम्भावना थियो ।

प्रेमचन्द राइचन्द जैन बीएसईका पिता
प्रेमचन्द राइचन्द जैनलाई बम्बई स्टक मार्केट(बीएसई)को पिता मानिन्छ। उनी नेटिभ शेयर एण्ड स्टक ब्रोकर्स एसोसिएसनका संस्थापक सदस्य थिए,जुन पछि बम्बे स्टक मार्केट भनेर चिनिन थाल्यो। उनलाई बम्बईको ‘कटन किङ’ पनि भनिन्थ्यो । 

(एजेन्सीहरुको सहयोगमा)