काठमाण्डौ । भारत विश्वका शीर्ष चार सुपरपावर स्टक मार्केटमा प्रवेश गरेको छ ।

भारतीय सेयर बजारमा आएको उछालका कारण त्यहाँको पूँजीबजार विश्वकै चौथो ठूलो बन्न पुगेको हो । भारतीय सेयर बजारको मूल्य अमेरिका,चीन, जापानभन्दा मात्रै पछि छ ।  

रीफीनीटिभका अनुसार गत नोभेम्बरमा भारतीय स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ४ ट्रिलियन(खर्ब ) अमेरिकी डलर पार गरेको छ । भारतमा मुख्यत: दुईवटा स्टक एक्सचेन्ज छन् : नेशनल स्टक एक्सचेन्ज अफ इण्डिया(एनएसई) र बम्बे स्टक एक्सचेन्ज(बीएसई) । 

पहिला बम्बे स्टक एक्सचेञ्ज भनेर चिनिने बीएसई एशियाको सबैभन्दा पुरानो सेयर परिसूचक हो । दैनिक कारोबारका आधारमा बीएसई भन्दा एनएसई ठूलो छ ।

वल्र्ड फेडेरेशन अफ एक्सचेन्जका अनुसार दैनिक कारोबार रकमका आधारमा बम्बे स्टक एक्सचेन्जभन्दा ठूलो एनएसई हङकङलाई उछिन्दै विश्वकै सातौं ठूलो स्टक एक्सचेन्ज बन्न सफल भएको छ ।  

निरन्तर उकालो लागि रहेको भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ । विदेशी लगानीकर्ता भारतीय पूँजीबजारमा लगानी गर्न लालायित देखिन्छन् । भारतमा लगानी गर्न चाहनेमा दिर्घकालिन र रणनितीक लगानीकर्ता छन् । 

३० वटा ठूला कम्पनीहरुको कारोबार हुने सेन्सेक्स इन्डेक्स यो वर्ष १६ प्रतिशतले उकालो लागेको छ । त्यस्तै निफ्टी ५० इन्डेक्समा पनि १७ प्रतिशतको उछाल आएको छ । 
यतिबेला भारतमा प्राथमिक सेयर निष्कासन(आईपीओ) मा पनि बृद्धि भइरहेको छ ।
भारतमा यस वर्षको नौ महिनामा मात्रै १५० वटा कम्पनीले आईपीओ निष्कासन गरेर दोस्रो बजारमा सूचीकृत भएका छन् । सोहि अवधिमा हङकङमा भने जम्मा ४२ वटा मात्रै कम्पनी सूचीकृत भएका छन् । 
भारत चम्किदै,चीन खुम्चदै 
भारतीय स्टकहरुमा आएको उछाललाई तीव्र गतिमा बृद्धि भईरहेको विश्वको एक मुख्य अर्थतन्त्रका रुपमा लिइएको छ । 

 

अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले चालू वित्त वर्षको लागि भारतको आर्थिक बृद्धिदर ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । तर केहि अर्थशास्त्रीहरुले यो दर ७ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् । 
विश्वको पाचौँ ठूलो अर्थतन्त्रका रुपमा रहेको भारतको अर्थतन्त्र सेप्टेम्बरको त्रैमासमा ७.६ प्रतिशतले बृद्धि भएको थियो । यो बृद्धि देशको केन्द्रीय बैंकले प्रक्षेपण गरेको भन्दा धेरै हो । 

 

भारतको अर्थतन्त्र र सेयर बजार उकालो लागिरहेका बेला छिमेकी देश चीनको अर्थतन्त्र भने ओरालो यात्रामा छ । चिनीयाँ उत्पादनप्रति उपभोक्ताको घट्दो माग र संकटग्रस्त रियल स्टेटका कारण लगानीकर्ता चीनबाट टाढिदै गएका छन् । जसको प्रभाव त्यहाँको सेयर बजारमा परेको छ । यस वर्ष चीनको साङघाई कम्पोजिट सात प्रतिशतले घटेको छ । त्यस्तै हङकङगको ह्याङसेङ इन्डेक्समा १९ प्रतिशतले पहिरो गएको छ । 
भारत र चीन बीच देखिएको आर्थिक बृद्धिको अन्तरलाई उदयीमान बजार बन्ने होडको प्रतिष्पर्धाका रुपमा हेरिएको छ । 

 

भारतीय अर्थतन्त्र चीनसँग कम मात्रामा जोडिएको छ । त्यसैले भारतका स्टकहरुमा चीनको सुस्त आर्थिक बृद्धिको कम प्रभाव देखिएको छ ।

घरेलु संस्थागत र रिटेल लगानीकर्ताका कारण दोस्रो ठूलो जनसंख्या भएको भारतमा विश्वका अन्य जोखिमहरुको पनि कम प्रभाव परेको देखिन्छ । -एजेन्सीहरु