काठमाण्डौ । कोभिड र खराब मौसमका कारण अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ।

शनिबार विश्वभर झन्डै ४ हार ४०० उडान रद्द गरिएकामा २ हजार ५०० भन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ। वायुसेवाका धेरै कर्मचारी कोभिड संक्रमितको संसर्गमा आएर क्वारेन्टिनमा बसिरहेका कारण समस्या झन् थपिएको हो। यात्रुको त्यस्तो संकटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो।

अमेरिकामा रद्द भएकामध्ये १ हजारभन्दा धेरै उडान सिकागोको ओहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए। युनाइटेड एअरलायन्सले एउटा विज्ञप्तिमा भनेको छ, ‘आज गरिएका रद्दहरु ओमिक्रोनले कर्मचारीमा पारेको असर मौसमसँग जोडिएका कारण हुन्। कठोर मौसमको अनुमानमा हामीले पहिल्यै उडानहरु रद्द गरेका हौँ। उडानहरु रद्द भएकाको हकमा हामीले पहिल्यै अर्को बुकिङ वा अन्य योजना बनाउन मिल्ने गरी खबर गरिरहेका छौँ।’

आइतबार धेरैजसो मानिसहरु क्रिसमसको बिदा सकेर घर फर्किने दिन थियो। डिसेम्बर २४ यता अमेरिकामा १२ हजार उडान रद्द भएका छन्।

वायुसेवा कम्पनीहरुले कर्मचारी अभावसँग जुझ्नका लागि उनीहरुलाई अतिरिक्त पैसा दिने उपाय चालिरहेका छन्। तर श्रम संगठनहरुले कर्मचारीहरुमा कोभिड संक्रमण हुनसक्ने र क्रुद्ध यात्रुहरुसँग झेल्नुपर्ने त्रास रहेको बताएका छन्। अमेरिकामा अहिले ओमिक्रोन भेरिउन्टका कारण कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ।

धेरैले खोप लगाएको ठाउँ भइकन पनि न्युयोर्कमा कीर्तिमानी संख्यामा कोभिड संक्रमित पाइएका छन्। अस्पतालहरुमा अहिलेसम्म उल्लेख्य चाप नदेखिए पनि भाइरसले प्रहरीदेखि मनोरञ्जनका क्षेत्रसम्ममा असर पुर्याएको छ। –बीबीसीबाट