काठमाण्डौ । विश्वभर कोरोनाभाइरस संक्रमणको चपेटामा करिब एक अर्ब मानिस पर्नसक्ने चेतावनी दिइएको छ ।

इन्टरनेसनल रेस्क्यु कमिटी (आईआरसी)ले यदि कमजोर देशहरुलाई तत्काल मद्दत नगरिए यस्तो भयावह अवस्था आउने सक्ने चेतावनी दिएको हो । 

आईआरसीले कोरोना संक्रमणले विश्वमा पारिरहेको असर रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको औँल्याएको छ ।

आईआरसीले अहिलेको अवस्थामा आफगानिस्तान र सिरियाजस्तो युद्धबाट बर्बाद देशहरुलाई तत्काल आर्थिक सहयोग रहेको जनाएको छ । ‘यसका लागि समय निकै कम छ, किनकि कोरोना संक्रमणको वितण्डा तीव्रगतिमा बढ्दै गएको छ’, आईआरसीले भनेको छ।

जोन हप्किन्स विश्वविद्यालयका आँकडाअनुसार मंगलबारसम्म विश्वभर कोरोनाबाट ३० लाख बढी मानिस संक्रमित भइसकेका छन् । जब कि दुई लाख बढी मानिसको ज्यान गइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र इन्पिरियल कलेज लन्डनको आँकडाअनुसार तयार पारिएको आईआरसीको रिपोर्टमा विश्वभर कोरोनाभाइर संक्रमणको मामिला ५० करोडदेखि १ अर्बबीचको हुन सक्छ ।

रिपोर्टमा संक्रमणबाट संघर्ष प्रभावित र अस्थिर देशहरुमा करिब ३० लाख मानिसको ज्यान जान सक्ने आशंका गरिएको छ । – एजेन्सी