काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणबाट अहिले लगभग विश्वका सबै देश प्रभावित छन्।

चीनको वुहान सहरबाट फैलिएको यो भाइरसबाट हालसम्म विश्वमा १ लाख ६० हजार ७०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने २३ लाख २९ हजार बढी संक्रमित भइसकेका छन्। तीमध्ये ५ लाख ९५ हजार बढी निको भएर घर पनि फर्किसकेका छन्। 

चीनबाट सुरु भएको यो भाइरसले अहिले विश्वको शक्तिशाली राष्ट्र अमेरिका अतिप्रभावित बनेको छ। त्यस्तै ब्रिटेनसहित युरोपेली मुलुकहरु इटाली, फ्रान्स र स्पेन सबैभन्दा बढी यो भाइरसको चपेटामा परेका छन्। 

अहिले केही देशहरुले चीनले यो भाइरससम्बन्ध सत्यतथ्य लुकाउँदा र सुरुमै नियन्त्रणको प्रयास नगर्दा विश्वभर महामारीका रुपमा फैलिएको आरोप लगाइरहेका छन्। त्यस्तै चीनले यो भाइरसबाट आफ्नो देशमा भएको मानवीय क्षतिको सही तथ्यांक पनि ढाकछोप गरेको आरोप लागिरहेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजोमात्र पत्रकार सम्मेलनमा चीनले जानीबुझी यो भाइरस फैलाएको पाइए नराम्रो नतिजाको भागिदार बन्नुपर्ने चेतावनी दिइसकेका छन्। उनले चीनमा देखिएको कोरोनाभाइरसका बारेमा सही जानकारी ठिक समयमा नदिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई अमेरिकाले प्रदान गर्दै आएको फन्ड पनि रोकिसकेका छन्। 

उता अस्ट्रेलियाका विदेशमन्त्री मारिज पायनले पनि कोरोनाभाइरसबाट विश्वमा देखिएको संक्रमणको स्वतन्त्र जाँच हुनुपर्ने माग गरिरहेका छन्। उनले डब्ल्यूएचको भूमिकाको विषयमा पनि सन्देह व्यक्त गरेका छन्। 

यसैगरी अस्ट्रेलियाका विदेशमन्त्रीले ट्रम्पकै भनाइमा सहमत हुँदै कोरोनाको प्रारम्भिक रोकथाममा चीनले हेलचेक्र्याइँ गरेको दाबी गरेका छन्। उनले यो भाइरसलाई लिएर चीनले विश्वसामु पारदर्शिता नदेखाएको आरोप पनि लगाएका छन्।

यो भाइरसले गर्दा चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा दरार पर्ने देखिएको छ। 

यस्तै फ्रान्सका राष्ट्रपति इम्युनुएल म्याक्रोनले चीनका गतिविधिमाथि प्रश्न उठाएका छन्। उनले चीनले यो भाइरस व्यवस्थामा सही भूमिका निर्वाह नगरेको र पारदर्शिता पनि नअपनाएको बताएका छन्। – एजेन्सी