काठमाण्डौ । भारत विश्वमा सबैभन्दा छिटो बढ्दै गइरहेको अर्थतन्त्र हो। अहिले फेरि भारतीय अर्थतन्त्रका लागि अर्को खुसीको खबर आएको छ। 

विदेशी लगानी भित्र्याउने मामिलामा भारतले अमेरिका, चीन, बेलायतलगायत विश्वका सबै ठूला देशलाई पछाडि पारेको छ। संयुक्त राष्ट्र संघको व्यापार र विकास सम्मेलनको पछिल्लो प्रतिवेदनमा सन् २०२२ मा भारतमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १० प्रतिशतले बढेको उल्लेख छ। जब कि विकसित देशहरुमा एफडीआईको प्रवाह ३७ प्रतिशतले घटेको छ।

बुधवार जारी प्रतिवेदनअनुसार सन् २०२२ मा भारतले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को मामिलामा सबै देशलाई पछाडि पारेको छ। भातरमा एफडीआई १० प्रतिशतले बढेर ४९ अर्ब डलर पुगेको छ। 

समग्र एफडीआई प्रवाहमा गिरावट धेरैजसो विकसित अर्थतन्त्रहरुमा देखिएको छ। जहाँ एक वर्षअघिको तुलनामा २०२२ मा एफडीआई ३७ प्रतिशतले घटेर ३७८ अर्ब डलरमा झरेको छ। 

प्रतिवेदनका अनुसार विदेशी लगानीमार्फत भारत विश्वमा नयाँ परियोजना घोषणा गर्ने तेस्रो ठूलो र अन्तर्राष्ट्रिय परियोजना वित्तीय सम्झौताको हिसाबले दोस्रो ठूलो देश बनेको छ।

विश्व लगानी प्रतिवेदन–२०२३ ले सन् २०२० मा कोरोनाभाइरस महामारीको प्रकोपका क्रममा एफडीआईमा ठूलो गिरावट दर्ता गरेपछि सन् २०२१ मा बलियो अवस्था देखिएको उल्लेख गरेको छ। तर, २०२२ मा फेरि एकपटक कुल विश्वव्यापी एफडीआई प्रवाह १२ प्रतिशतले घटेर १.३ खर्ब डलरमा आएको छ। जहाँ भारतमा १० प्रतिशत एफडीआई आएको छ भने चीनमा ५ प्रतिशतको वार्षिक वृद्धिका साथ १८९ अर्ब डलर पुगेको छ। 

यसबाहेक सिंगापुरमा विदेशी लगानी ८ प्रतिशतले बढेर १४१ अर्ब डलर पुगेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)मा १० प्रतिशतले बढेर २३ अर्ब डलर पुगेको छ।

गत वर्ष २०२२ मा सबैभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्राप्त गर्ने ५ देशमा चीन, हङकङ, सिंगापुर, भारत र संयुक्त अरब इमिरेट्स (यूएई) पर्छन्। समग्रमा यस क्षेत्रमा करिब ८० प्रतिशत लगानी आएको छ। 

प्रतिवेदनका अनुसार भारतमा विदेशी लगानी बढ्नुको सबैभन्दा ठूलो कारण देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेको हो। केन्द्र सरकारले पूर्वाधारमा लगानी बढाएको छ। गत वर्ष रुस–युक्रेन युद्धको प्रभाव, खाद्यवस्तुलगायत ऊर्जाको मूल्यमा भएको वृद्धि र सार्वजनिक ऋणमा भएको वृद्धिले विश्वव्यापी एफडीआईमा कमी आएको प्रतिवेदनमा उल्लेख छ। –एजेन्सी