काठमाण्डौ ।अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तरराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने बताएको छ ।

आईएलओले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तरराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
 

साथै उसले ‘सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

 

आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएकाले श्रम बजार आश्चर्यजनक रूपमा लचिलो भए पनि बहुपक्षीय संकटहरू देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको भनेको छ । सन् २०२२ को तुलनामा २०२३ मा रोजगारदर बढेको थियो ।

सन् २०२३ मा बेरोजगारदर ५.१ प्रतिशत थियो । प्रतिवेदनमा उल्लेख भए अनुसार यो संख्या बढेर सन् २०२४ मा बेरोजगारदर ५.२ प्रतिशत बढ्ने अनुमान छ । यो वर्ष २० लाख नयाँ श्रमिकहरू रोजगारी खोज्न विश्व श्रम बजारमा आउनेछन् ।

आईएलओले अधिकांश २० वटा धनी राष्ट्रहरूमा खर्चयोग्य आयमा गिराउट आउने पनि बताएको छ ।

‘उच्च र निम्न आय भएको देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएका देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएका देशमा २०.५ प्रतिशत थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०२३ मा उच्च आय भएका देशमा ४.५ प्रतिशत बेरोजगारदर थियो भने निम्न आय भएका देशमा बेरोजगारदर ५.७ प्रतिशत थियो ।’

उसले काम गर्ने गरिब श्रमिकहरू बढ्ने पनि बताएको छ ।

सन् २०२३ मा दैनिक २.१५ डलरभन्दा कम कमाउने कामदारको संख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलरभन्दा कम कमाउने श्रमिकहरूको संख्या ८४ लाख पुगेको थियो ।

‘आयको असमानता पनि निरन्तर बढिरहेको छ । खर्चयोग्य आम्दानी घट्नुका साथै दिगो आर्थिक पुनःस्थापना हुने अवस्था कमजोर देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ ।-एजेन्सी