काठमाण्डौ । कोरोनाभाइरसबाट उत्पन्न आर्थिक मन्दीको चपेटामा परेको विश्व अर्थव्यवस्थाको बचाउका लागि विश्वभरका केन्द्रीय बैंकहरुले पहल थालेका छन्। यसै क्रममा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंक (फेड) ले बेन्चमार्क ब्याजदर ० देखि ०.२५ प्रतिशत सम्म कायम गरेको छ। यो दर पहिले १ प्रतिशत देखि १.२५ प्रतिशतसम्म थियो।

अमेरिकाको केन्द्रीय बैंकले अहिले ब्याजदरमा १ प्रतिशत कटौती गरेको छ। योभन्दा पहिले ३ मार्चमा फेडले ब्याजदरमा ०.५ प्रतिशत कटौती गरेको थियो।

फेडले कोरोनाबाट थलिएको अमेरिकी अर्थ व्यवस्थालाई उकास्न ७ सय अर्ब डलर परिचालन गर्ने निर्णय पनि गरेको छ। उसले ५ सय अर्ब डलर र २ सय अर्ब डलरको सरकारी बोन्ड खरिद गर्ने निर्णयसमेत गरेको छ। 

त्यस्तै न्युुजिल्यान्डको केन्द्रिय बैंकले पनि सोमबारको आपतकालीन बैठकपश्चात ब्याजदरमा ७५ बेसिस प्वाइन्ट कटौती गर्ने निर्णय गरेको छ। 

यूएई केन्द्रीय बैंकद्वारा २७ अर्ब डलरको राहत प्याकेज घोषणा

यसअघि संयुुक्त अरब इमिरेटको केन्द्रीय बैंकले पनि आफ्नो अर्थतन्त्रलाई चलायमान राख्न २७ अर्ब डलरको राहत प्याकेजको घोषणा गरेको थियो। उक्त राहत प्याकेजमार्फत यूएईका बैंकहरुलाई सहयोग गर्नुुका साथै विभिन्न कानुुनी र नियमनकारी सीमाहरुलाई  लचिलो बनाइने बताइएको छ। 

मध्यपूर्वका लगभग सबैजसो देशहरुले आआफ्नो अर्थतन्त्रलाई गति दिने कोसिस गर्ने जनाएका छन्। 

यस्तै साउदी अरबले १३ अर्ब डलरको राहत प्याकेजको घोषणा गरेको छ। 

अमेरिका, चीन र जापानले पनि खोले आफ्ना ढुुकुुटी

गत शुुक्रबार अमेरिकाको फेडरल रिजर्भ (फेड) ले १–३ महिना अवधिको एक लाख करोड डलरको रिपो अपरेसनको घोषणा गरेको थियो। यही हप्ता फेडले आफ्नो ब्याजदरको समीक्षा पनि गर्दैछ। 

यतिबेला विश्वभरका लगानीकर्ता फेडको मौद्रिक नीतिको समीक्षाले कस्तो निर्णय गर्ने हो भनेर प्रतीक्षारत छन्। 

यस्तै चीनको केन्द्रीय बैंक पिपुुल्स बैंक अफ चाइनाले बैंकहरुको रिजर्भ आवश्यकता अनुुपातलाई ०.५ प्रतिशत घटाएर १ प्रतिशत पुुर्याएको छ। 

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले पनि बोन्ड खरिद गर्ने घोषणा गरेको छ। 

यसै क्रममा दक्षिण कोरियाको नियामक निकायले सेयरबजारमा ६ महिनाको लागि सर्ट सेलिङमा रोक लगाएको छ र ‘सेयर बाई बैंक’ नियमलाई केही लचिलो बनाएको छ। 

भारतीय रिजर्भ बैंकले बेच्यो १.५ अर्ब डलर

भारतीय मिडियाका अनुुसार भारतीय रिजर्भ बैंक (आरबीआई) ले गत शुुक्रबार भारतीय रुपैयाँलाई बलियो बनाउन १.५ अर्ब डलर बेचेको छ। तर आरबीआईले यसको पुुष्टि भने गरेको छैन। – एजेन्सी