काठमाण्डौ। अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।

पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती  गर्न लागेको समाचार सार्वजनिक भएसँगे विश्वबजारमा तेल महंगिएको हो ।

इजरायल र हमासबीचको हिंसात्मक जारी द्वन्द्वले गर्दा मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने चिन्ता कायमै छ । युद्धको अनिश्चितता कायमै रहेपछि मध्यपूर्वमा एक महिनायता तेलको भाउ ओरालो लागेको थियो ।

सोमबारको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा  ब्रेन्ट क्रुडको भाउ ०.७ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१८  डलरमा आएको थियो ।

तर अपरान्ह  २:३० बजेसम्ममा भने ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ०.६९ प्रतिशतले बढेर ८१.१७ डलरमा उक्लिएको छ । सोही समयमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि ०.८२ प्रतिशतले बढेर ब्यारेलकै ७६.५१ डलरमा सेन्टमा पुगेको छ।

ओपेक प्लसले आगामी आइतबार बस्न लागेको बैठकमा तेलको उत्पादनमा अतिरिक्त कटौती गर्ने कि नगर्ने  भन्नेबारे विचार गर्न लागेको खबर सार्वजनिक भएको छ । जसका कारण कच्चा तेलको मूल्य साताको सुरुवाती दिनदेखि नै बढेको समाचार एजेन्सी रोयटर्सले बताएको छ ।

रोयटर्सले तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ओपेक  थप उत्पादन कटौतीबारे छलफल गर्न लागेको बताएको छ। तर ओपेक प्लस सदस्यहरू कटौतीमा सामेल हुने सम्भावना अस्पष्ट रहेको बताइएको छ । 

त्यसो त विश्वबजारमा रुस र युक्रेनबीचको द्वन्द्व नथामिने संकेत बढ्दै गएपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। रसिया विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। मध्यपूर्वमा द्वन्द्व बढ्दै गएपछि तेलको मूल्य दबाबमा परेको छ। -एजेन्सी